कोरियामा नेपाली महिलाको कर्तुत : जसले अरु महिलासँग लागेको भन्दै प्रेमीको हात काटेर भण्डार कक्षमा लुकाइन्
काठमाडौं । दक्षिण कोरियामा एक नेपाली महिलाले आफ्ना प्रेमीको हात नै काटिदिएका छन् । आफू बाहेक अरु महिलाहरुँंग पनि उठबस गरेको थाहा पाएपछि उनले प्रेमीको हात काटिदिएकी हुन् । ती महिला प्रेमीसँगै बस्दै आएकी थिइन् । उनले बेहोस हुने औषधि खुवाएर उनको हात काटिदिएको कोरियन सञ्चारमाध्यमले जनाएका छन् ।
प्रेमीको हात काटेपछि ती महिला आफैले प्रहरीको ११९ नम्बरमा कल गरेर घटनाको जानकारी गराएकी थिइन् । त्यसपछि लगत्तै प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी त्यहाँ पुग्दा ती महिला मादक पदार्थ सेवन गरेर मातेको अवस्थामा ढलेकी थिइन् ।
अभियुक्त महिलाले हात काटेर भण्डार कक्षमा लुकाएर राखेकी थिइन् । तर, उनले सुरुमा प्रहरीलाई यसको सम्पूर्ण जानकारी दिएकी थिइनन् । काटिएको हात भने ६ घन्टाको व्यापक खोजतलासपछि फेला परेको थियो ।
घाइते अवस्थामा भेटिएका पुरुषलाई भने एम्बुलेन्स मार्फत अस्पताल तत्काल अस्पताल पु-याइएको थियो । चुँडिएको हात चिकित्सकले शल्यक्रिया गरेर जोडेको छ ।
प्रहरीका अनुसार उनले प्रेमी सुतेको अवस्थामा फोन कल र म्यासेज हेरेकी थिइन् । विभिन्न महिलाहरुसँग म्यासेज आदानप्रदान हुनुका साथै निरन्तर फोन संवाद हुने गरेको देखेपछि आवेशमा आएर उनले प्रेमीको हात काटिदिएकी हुन् । उनले प्रेमीले खाने नियमित औषधिमा बेहोस हुने औषधि मिसाएर हात काटिदिएकी हुन् ।
त्यसो त ती नेपाली महिलाले आफ्ना प्रेमीको आनीबानीलाई लिएर बेलाबेलामा झगडासमेत गर्दै आएकी थिइन् । आफ्नी प्रेमीले आफूबाहेक अरु महिलासँग संगत नगरोस् भन्ने उनको चाहना थियो । तर त्यसमा सुधार नभएको भन्दै उनले सो कदम चालेकी हुन् ।
उनका प्रेमी कुन देशका नागरिक हुन् भन्नेबारे भने प्रहरीले अझै खुलाएको छैन ।