News

१५ अर्बको हेलिकप्टर किन्ने गोप्य योजना बाहिरियो

१५ अर्बको हेलिकप्टर किन्ने गोप्य योजना बाहिरियो

साउन २२ । गृह मन्त्रालयमा कोही बोल्दैनन् । अर्थ मन्त्रालयमा प्रशंग उप्कायो कि अधिकारीहरु तर्किन्छन् । दुवै मन्त्रालयका सूचना दिने अधिकार प्राप्त प्रवक्ता त टकटकिन्छन् मात्रै । प्रसंग हो, झन्डै चार महिनादेखि अर्थ मन्त्रालयको अनुमोदन कुरेर बसिरहेको गृहम मन्त्रालयको एउटा गोप्य प्रस्तावको । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तीन–तीन वटा हेलिकप्टर किन्ने यो प्रस्ताव गत चैतदेखि अर्थ मन्त्रालयमा विचाराधीन छ । र अब लगभग निर्णयको नजिक पुगेको छ ।

नेपाल प्रहरीको मुख्यालय नक्साल र सशस्त्र प्रहरीको मुख्यालय हलचोकबाट गृह हुँदै अर्थ मन्त्रालय पुगेको यो प्रस्ताव यति गोप्य छ कि २३ जेठमा बिदा भएका तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिलाई समेत यसको कुनै जानकारी छैन । जबकि प्रहरी मुख्यालयहरुबाट यो प्रस्ताव गृह आउँदा र त्यहाँबाट अर्थ मन्त्रालय पुग्दा गृहमन्त्री निधि नै थिए । तर निधिले आफ्नो कार्यकालमा हेलिकप्टर किन्ने प्रस्तावबारे अनभिज्ञता प्रकट गरे । उनले भने, ‘मलाई केही थाहा छैन । मेरो पालामा त्यस्तो केही भएको छैन ।’

स्रोतका अनुसार दुवै प्रहरीका लागि हेलिकप्टर खरिद गर्न कम्तीमा १५ अर्ब रुपियाँ लाग्ने अनुमानसहितको प्रस्ताव पठाएको छ, गृहले । प्रस्ताव अत्यन्त गोप्य राखिएकोले गृहका प्रवक्ता दीपक काफ्ले र अर्थका प्रवक्ता रामशरण पुडासैनी दुवैले यसबारे केही बताउन चाहेनन् ।
नेपाल साप्ताहिकबाट

विशेष