News अपराध सुरक्षा

चितवनकाे राजमार्ग आसपास अत्याधुनिक क्यामरा जडान

चितवनकाे राजमार्ग आसपास अत्याधुनिक क्यामरा जडान

रत्ननगर, चितवन । चितवनको टिकौली जंगलस्थित जैविक मार्ग करिडोर क्षेत्रमा वन्यजन्तुमा परेको असरबारे क्यामरा जडान गरी अनुगमन शुरु गरिएको छ ।

त्यहाँका विभिन्न स्थानमा अत्याधुनिक प्रविधिको क्यामरा जडान गरी अनुगमन शुरु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

उनका अनुसार राजमार्गको वरिपरि वन्यजन्तु तलमाथि गर्दा कस्तो असर परिरहेको छ भनेर अध्ययन गर्न क्यामरा ट्रापिङ–विधिको प्रयोग गरिएको बताए । भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बीचमा टिकौली जंगलको जैविक मार्ग पर्छ ।

“पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो क्षेत्रमा संरक्षित वन्यजन्तुको आवतजावतको अवस्था, मानवीय र सवारी चापका कारण परेको असरबारे यहाँ अध्ययन हुन्छ” डा पोखरेलले भने ।

सो क्षेत्रमा १६ वटा स्थानमा ३२ वटा अत्याधुनिक क्यामरा राखेर अनुगमन थालिएको कोषका संरक्षण अधिकृत सन्ताष भट्टराईले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बरण्डाभार क्षेत्रमा बाघको उपस्थितिबारे अनुगमन गरिएको भए पनि सडकलाई नै केन्द्रित गरेर क्यामरा ट्र्यापिङबाट अनुगमन भएको यो पहिलो हो भने । यसले त्यहाँको वास्तविक अवस्थाको चित्रण गर्ने र पछि संरक्षणका योजना बनाउन सहयोग मिल्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला वन कार्यालय तथा स्थानीय सामुदायिक वन र बरण्डाभार उपभोक्ता समितिको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

जैविक मार्ग हुँदै चितवन निकुञ्जका दुर्लभ र संरक्षित वन्यजन्तु बाघ, हात्ती, गैँडा, भालु, चित्तल चुरे पर्वत र महाभारत पर्वत क्षेत्रका वनमा आवतजावत गर्ने करिडोर टिकौली जंगल हो । यसरी आवतजावतका क्रममा सवारीको ठक्करबाट वर्षेनी वन्यजन्तु मर्ने गरेका छन् ।

सो क्षेत्रमा हिँड्ने वन्यजन्तुको सुरक्षामा चुनौती थपिएपछि अहिले अस्थायी सुरक्षा चौकी स्थापना गरेर गाडी रोक्नसमेत निषेध गरिएको छ ।

citwan

विशेष