अमेरिका - उत्तरकोरिया सम्बन्ध थप तिक्ततापूर्ण, मिसाइल हमला गर्ने उत्तर कोरियाको तयारी
प्योङयाङ/एजेन्सी– उत्तर कोरियाले अमेरिकी प्यासिफिक क्षेत्रको द्वीप गुआममा मिसाइल हमला गर्ने तयारी रहेको जनाएको छ । गुआम पश्चिमी प्रशान्त महासागरको एक अमेरिकी द्वीप हो । उत्तर कोरियाको सरकारी मिडियाले गुआम द्वीपमा मिसाइल आक्रमणबारे सोचिरहेको जनाएको हो ।
उत्तर कोरियाको सरकारी मिडियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्धको कडा मूल्य चुकाउनुपर्ने चेतावनी दिएको केही घण्टामा नै एक सैनिक बयान सार्वजनिक गरेको हो ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले भनेको छ, ‘गुआममाथि मध्यमदेखि लामो दूरीको मिसाइल हमलाबारे विचार भइरहेको छ ।’ गुआममा अमेरिकी सामरिक बम वर्षक विमानको अड्डा रहेको छ । उत्तर कोरियाको भनाइले दुई देशबीच खतरनाक तनावलाई दर्साउँछ । हालै संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध लगाएको थियो । उत्तर कोरियाले भने आफूमाथि लागेको प्रतिबन्ध सम्प्रभुतामाथिको उल्लंघन भएको भन्दै यसको मूल्य चुकाउनुपर्ने बताउँदै आएको छ ।
बुधबार उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएले गुआममाथि हमलाको तयारी रहेको खुलासा गर्दैै सो द्वीपको चारैतर्फबाट हमलाको तयारी भएको जनाएको छ । यसमा उत्तर कोरियामा नै बनेको मिसाइल ह्वाङसोङ–१२ को प्रयोग हुन सक्ने बताइएको छ । उत्तर कोरियाले मंगलबार जारी गरेको सैन्य विज्ञप्तिमा गुआममाथि आक्रमणको तयारी रहेको बताइएको हो । उत्तर कोरियाको यो भनाइ गुआममा अमेरिकी सैन्य अभ्यास भएको खबरपछि आएको हो ।
उत्तर कोरियाको यो आक्रामक विज्ञप्तिपछि दुई देशबीचको सम्बन्ध झनै बिग्रने अनुमान गरिएको हो । उत्तर कोरियाले पाँचपटक परमाणु बमको सफल परीक्षण गरिसकेको छ । यसका साथै गत जुलाईमा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलसमेत परीक्षण गरेको थियो । उसको यो मिसाइलले अमेरिकासम्म मार हान्न सक्ने बताइएको छ ।
मंगलबार मात्रै अमेरिकी मिडियामा उत्तर कोरियाले परमाणु हतियार बनाइसकेको र उसको मिसाइल परमाणु हतियारबाट लैस हुने क्षमताको रहेको रिपोर्ट प्रकाशित भएको छ । वासिंगटन पोस्टमामा छापिएको एक रिपोर्टमा अमेरिकाले सोचेको भन्दा धेरै छिटो अमेरिकालाई निसाना बनाउने प्रकारका परमाणु हतियारबाट लैस मिसाइल विकास गरिरहेको छ ।
जापानी सरकारले पनि एक श्वेतपत्र जारी गर्दै उत्तर कोरियासँग परमाणु हतियार रहेको बताएको छ । राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई धम्की दिँदै भनेका छन्, ‘अमेरिकालाई चेतावनी दिन बन्द गर अन्यथा अहिलेसम्म कसैले कल्पना नै नगरेको हमलाको सामना गर्नुपर्नेछ ।’ करिब १ लाख ६३ हजार जनसंख्या रहेको गुआम द्वीपको एक चौथाइ भागमा अमेरिकी सेनाको सैन्य बेसक्याम्प छ । सो स्थानमा अमेरिकाका करिब ६ हजार सैनिक रहेका छन् । अमेरिकाबाट करिब ११ हजार किलोमिटरको दूरीमा रहेको यो द्वीपबाट अमेरिकाले आफ्नो पहुँच दक्षिण चीन सागर, उत्तर कोरिया र ताइवानसम्म पु¥याउने गरेको छ ।
गुआम यस्तो स्थान हो, जहाँबाट दक्षिण चीन सागरमा चीनको बढ्दो दबदबामाथि धावा बोल्ने गरेको छ । उत्तर कोरियाले गुआममाथि दिएको यो धम्की एक तीरबाट दुई सिकार हो । केही मिडियाहरूले यस स्थानमा हमला गर्नु भनेको अमेरिकी सैन्य शक्तिलाई कमजोर बनाउनु भएको उल्लेख गरेका छन् ।
गुआममा बस्ने नागरिकहरूले समेत अमेरिकी नागरिकता नै पाउने भएपनि त्यहाँको राष्ट्रपति निर्वाचनमा भोट भने हाल्न पाउँदैनन् । अमेरिकी नौसेना यो द्वीपमा सबैभन्दा पहिले १८९८ मा प्रवेश गरेको थियो । डिसेम्बर १९४१ सम्म यो द्वीप अमेरिकी कब्जामा रहेको छ । पर्ल हार्बरमा आक्रमण गरेपछि दुई दिनमा यो टापुमा जापानले कब्जा जमाएको थियो ।
जापानको गुआम कब्जा भने हिंसात्मक थियो । तीन वर्षसम्म जापानले शासन गर्दा १ हजार भन्दा बढीको हत्या भएको थियो । सन् १९४४ मा अमेरिकाले यस द्वीपमाथि पुनः आफ्नो नियन्त्रण कायम गरेको हो । यस्तोमा उत्तर कोरियाको धम्कीलाई यस द्वीपमा अमेरिकी युद्धको इतिहासलाई दोहो¥याउने संकेतका रुपमा हेरिएको छ ।