News

पहिरोमा पुरिएका चारै जनाको शव भेटियो

पहिरोमा पुरिएका चारै जनाको शव भेटियो


रसुवा । जिल्लाको उत्तरगया गाउँपालिका–४ पैरेबेंसीमा अविरल वर्षासँगै गएको पहिरोमा परी हराइरहेका चारैजनाको शव भेटिएको छ ।

आइतबार राति बस्ती माथिबाट पहाड बगेर घर पुरिँदा हराइरहेका धर्मबहादुर थापामगरको शव मंगलबार साँझ भेट्टिएको हो । सुरक्षाकर्मीसहितको उद्धारकर्मीको टोलीले स्काभेटर प्रयोग गरी पहिरो पन्छाएर ७५ वर्षका थापामगरलाई पहिरोले पुरिएको उनको घरबाट शव निकालेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाइँले जानकारी दिए ।

पहिरोमा परेका अन्य तीनजनाको शव सोमबार नै निकालिएको थियो । पहिरोमा परेर धर्मबहादुरसहित उनकी बुहारी ३३ वर्षकी मुना, नाति चार वर्षका रवीन र उनीहरुको घरमा काम गर्ने सहयोगी ७८ वर्षका भक्तबहादुर नगरकोटीको मृत्यु भएको हो । घाइते भएका चारजनाको भने स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

विशेष