News देश

साउदीमा रहेका भुसालको ‘ब्लडमनी’ तिर्न सहयोग कोष स्थापना

साउदीमा रहेका भुसालको ‘ब्लडमनी’ तिर्न सहयोग कोष स्थापना

काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा साउदी अरबको जेलमा परी आजीवन कारावासको सजाय सुनाइएका नवलपरासीको मध्यविन्दु नगरपालिका–४ का स्थानेश्वर भुसालले ‘ब्लडमनी’ बापत तिर्नुपर्ने रकमका लागि आर्थिक सहयोग कोष स्थापना गरिएको छ । 

भुसाल २०६७ साल असोजमा साउदी अरब गएका थिए । साउदीमा चालकको काम गर्ने क्रममा त्यहाँ गएको १० महिनापछि उनको गाडीलाई पछाडीको गाडीले ठक्कर दिँदा अगाडि रहेको गाडीमा गएर ठोक्किँदा अगाडिको गाडीमा रहेका एक साउदी नागरिकको मृत्यु भएको थियो । 

साउदी नागरिकको मृत्युपछि केही दिनअघि अदालतको सुनुवाइका क्रममा भुसाल र उनको गाडीलाई पछाडीबाट ठक्कर दिने गाडीका चालक गरी दुईजनाले गरी साउदी रियाल तीन लाख अर्थात् करिब ९० लाख नेपाली रुपैयाँ तिर्नुपर्ने फैसला अदालतले गरेको थियो । 

अदालतको फैसला अनुरुप भुसालले क्षतिपूर्ति बापतको आधा रु ४५ लाख तिर्नुपर्ने र सो नतिरेमा आजिवन जेलजीवन बिताउनुपर्नेछ । 

भुसालको आर्थिक अवस्था निकै कमजोर रहेको र ‘ब्लडमनी’ बापतको सो रकम तिर्न नसक्ने अवस्थालाई ध्यानमा राखी वैदेशिक रोजगारको क्षेत्रमा काम गर्दै आएको संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) ले भुसालको परिवारसँगको समन्वयमा आर्थिक सहयोगका लागि कोष खडा गरेको हो । 

समितिले संस्थाको तर्फबाट रु १० हजार बीउपूँजी राखी ग्लोबल आइएमई बैंक अनामनगरको खाता नम्बर ३९०१०१००००४०९ मा सहयोग गर्न देश, विदेशमा रहेका सबैलाई आह्वान गरेको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भुसालका आमा यमकलाले आफुहरु निकै गरिब परिवार रहेको र सुकम्बासी बस्तीमा बसिरहेको बताउँदै सबैसँग सहयोगका लागि आग्रह गरे । 

उनले भने, “कमाउने आधार छोरो जेलमा परेपछि साँझ बिहान खान त समस्या छ, कहाँबाट ४५ लाख ल्याउनु । सबैले सहयोग गरे मेरो छोरो जेलबाट छुट्थ्यो, नभए जेलमै मर्ने भयो ।” 

भुसाल जेलमा परेको ५ महिनापछि यहाँ रहेकी उनकी श्रीमती अर्कोसँग बिहेगरी गएको र घरमा आफू, श्रीमान् र एकसय वर्षकी सासुमात्रै रहेको उनले जानकारी दिए । 

पिएनसिसिका अध्यक्ष कुलप्रसाद कार्कीले सात सदस्यीय सहयोग कोष समिति गठन गरिएको जानकारी दिँदै यस मानवीय अभियानलाई सफल पार्न देश, विदेशमा रहेका सम्पूर्ण नेपाली, संघ, संस्था, आफन्तजनलगायत सबैसँग आग्रह गरे । 

saudi

विशेष