रोहिंग्या मुस्लिम विद्रोहीद्वारा एकतर्फी युद्धविराम घोषणा
काठमाडौं । म्यानमारका रोहिंग्या मुस्लिम विद्रोहीले आइतबारबाट लागू हुनेगरी एक महिनाका लागि एकतर्फी युद्धविराम घोषणा गरेका छन् । देशको पश्चिमी भागमा जारी संकट कम गर्न उसले एकतर्फी युद्धविराम घोषणा गरेको जनाएको छ ।
रोहिंग्या मुस्लिम विद्रोहीले म्यानमारको सेनालाई पनि युद्धविराम मान्न आग्रह गरेको छ । विद्रोहीको युद्धविरामसँगै सेनालाई पनि युद्धविरामका लागि दबाब पर्ने देखिएको छ । विद्रोहीले मानवीय सहायता संगठनलाई सहयोग सुरु गर्न अपीलसमेत गरेको छ ।
आराकाना रोहिंग्या साल्वेशन आर्मीले सुरक्षा बलमाथि आक्रमण गरेको दुई सातापछि म्यानमारको सेनाले सशस्त्र अभियान थालेपछि म्यानमारको अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ । तीन लाख रोहिंग्या मुस्लिमले भागेर बंगलादेशमा शरण लिएका छन् । म्यानमार सरकारका एक मन्त्रीले भने भागेर बंगलादेश पुगेका रोहिंग्या मुस्लिमहरुलाई देश फर्किन नदिने बताएका छन् ।