एउटै विमानका दुई सय पाइलट एकै पटक बिरामी, यस्तो छ कारण
बर्लिन । जर्मनीको विमान कम्पनी एअर बर्लिनमा कार्यरत दुई सय पाइलटले एकै पटक बिरामी बिदामा बस्दा उक्त कम्पनीका करिब एक सय उडान प्रभावित बनेका छन् ।
चालकहरूले मंगलबार छोटो समयमा सूचना दिई बिदा बसेकाले एटलान्टिक समुद्र पार गरेर जाने समेत गरी एक सय उडान रद्द भएको थियो । उडान रद्द हुँदा कैयौं विमानस्थलमा यात्रु अलपत्र परेका थिए।
पाइलटहरुले आफ्नो माग पूरा गर्न दबाव दिँदै कम्पनीलाई असहयोग गरेको पाइएको छ । विमान कम्पनीका कार्यकारी प्रमुख थोमस विन्कलम्यानले जर्जर अवस्थामा चलिरहेको विमान कम्पनीका उडान नै रद्द गर्नुपर्ने गरी एकै पटक चालक विदा बस्नुलाई ‘आगोसँग खेलेको’ संज्ञा दिएका छन् । उनले पाइलटहरुले कम्पनीलाई असहयोग गर्दा कैयौँ लाख अमेरिकी डलर घाटा बेहोर्नुका साथै कम्पनीको ख्याति समेत खस्किएको बताए । चालक दलले आफ्ना माग पूरा गर्न वार्ताको विकल्प नभएको र यसका लागि उडान नियमित गर्नुपर्ने पूर्वशर्त कम्पनीले अघि सारेको छ ।
जर्मन सञ्चारमाध्यमले विमान कम्पनीलाई नयाँ व्यक्तिले लिएको र विमान कम्पनीमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारी तथा चालकहरूले दबाव दिएपछि केही समयदेखि कम्पनीमा समस्या उत्पन्न भएको उल्लेख गरेका छन्।
एअर बर्लिन वर्षौंदेखि घाटामा गएको र गत महिनादेखि कम्पनीको सबैभन्दा ठूलो हिस्सेदार विमान कम्पनी इतिहादले कम्पनीलाई खर्च दिन रोकेपछि कर्मचारीहरुले तलब समेत पाएका छैनन् ।