किसान कागतीखेतीतर्फ आकर्षित
बनियानी (झापा) । मनग्य आम्दानी हुन थालेपछि दक्षिणी झापाका किसान कागतीखेतीतर्फ आकर्षित भएका छन् ।
धान वा अन्य खेती गर्नुभन्दा कागतीखेती गर्न सहज र आम्दानीका हिसाबले अब्बल भएपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । एउटा कागतीको बोटमा ५०० देखि दुई हजार दानासम्म फल्छ । गौरादह नगरपालिका–१ का किसान खुमनाथ निरौला दुई बिगाहा धानखेत मासेर कागतीखेती शुरु गरेको बताउँछन् ।
राम्रोसँग हेरचाह गर्दा एउटा कागतीको बोटबाट २५ वर्षसम्म आम्दानी लिन सकिने उनले बताए । हाल उनले दुई बिगाहामा एक हजार ४५० कागतीको बिरुवा लगाएका छन् ।
“दुई वर्षकै बोटमा अहिले २०० भन्दा बढी कागतीको दाना फलेको छ”, उनले भने । पाँच हजार दाना कागती प्रति दाना दुई रुपैयाँ ५० पैसाका दरले बिक्री गरेको उनले बताए । बिरुवा लगाएको तीन वर्षदेखि कलमी बिरुवा बिक्री गर्न सकिन्छ । एउटा कलमी बिरुवा रु सयदेखि रु १५० सम्ममा बिक्री हुने गरेको निरौलाले बताए ।
सोही स्थानका बेदनिधि निरौलाले पनि नौ कट्ठामा युरेका जातको कागतीको बिरुवा लगाएका छन् । उनका छिमेकी खिन्द्रप्रसाद घिमिरेले १७ कट्ठामा कागतीखेती गरेका छन् । अन्य बालीभन्दा कागतीखेतीबाट मनग्य आम्दानी भएको उनीहरुले बताए ।
गौरादह नगरपालिका–३ का तीनजना युवाले तीन बिगाहामा कागती, एक बिगाहामा बेसार र एक बिगाहामा माछापालन शुरु गरेका छन् । कुशहरि दाहाल, दीपक बराल र नारायण कार्की मिलेर ‘केडी एण्ड कृषि फार्म’ दर्ता गरी कृषि कर्ममा लागेका हुन् ।
फार्ममा विभिन्न जातका दुई हजार कागतीका बिरुवा लगाएको फार्मका सञ्चालक बरालले बताए । किसानलाई कागतीखेतीमा आकर्षित गर्न सके वार्षिकरुपमा बाहिरिने करोडौँं रुपैयाँ रोकिने र त्यसले बढ्दो व्यापार घाटालाई पनि कम गर्ने उनको भनाइ छ ।
income lemon farming