व्यापार

अलैँची प्रवर्धन गर्न आचारसंहिता

अलैँची प्रवर्धन गर्न आचारसंहिता

ताप्लेजुङ । ताप्लेजुङमा अलैँचीले भनेजस्तो बजार मूल्य नपाउनुका साथै उत्पादनसमेत घट्न थालेपछि किसान र व्यवसायी दुवैले गुणस्तर सुधार गर्न आचारसंहिता बनाएका छन् ।

पछिल्लो समय गुणस्तर खस्किँदै गएसँगै अलैँचीको बजार प्रभावित बनेकाले किसान तथा व्यवसायीले आचारसंहिता बनाएका हुन् । आचारसंहितामा किसान, व्यवसायी र अलैँचीको उत्पादन तथा व्यवसाय प्रवद्र्धनमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायले पालना गर्ने सर्त उल्लेख गरिएको छ ।

मूल्य शृङ्खलामा सुधार ल्याउन उत्पादक तथा व्यवसायीसहितका सरोकारवालासँग परामर्श गरिरहेको अलैँची व्यवसायी सङ्घ, ताप्लेजुङको संयोजनमा आचारसंंहिता तयार भएको हो ।

अलैँची व्यवसायी सङ्घका कार्यक्रम संयोजक सन्तोष भट्टराईले सम्बन्धित सरोकारवालाकै उपस्थितिमा तयार भएको आचारसंहिता यसै साताबाट कार्यान्वयनमा ल्याउने बताउनुभयो ।

भट्टराईका अनुसार व्यवसायीका लागि आठबुँदे आचारसंहिता निर्माण गरिको छ । आचारसंहिताअनुसार अब व्यवसायीले खरिद गरेको अलैँची सुख्खा ठाउँमा भण्डारण गरेर राख्नुपर्ने छ । यस्तै ग्रेडिङ अनुसारको अलैँचीको मूल्य दिनुपर्ने तथा बालश्रमको प्रयोग गर्न नहुने गरी दोस्रो बुँदा सूचीकृत गरिएको छ ।

व्यवसायीले अलैँचीको मूल्य निर्धारणमा आन्तरिक तथा बाह्य बजारको व्यवस्थापन गर्नुपर्ने, गुणस्तर कायम राख्न लामो समयसम्म भण्डारण गर्न नपाइने, चिसो र गुणस्तरहीन अलैँचीको खरिद गर्न नहुने, किसान र व्यवसायी दुवै मिली अलैँची विकास बोर्ड गठनमा सामूहिक दबाब दिने, अलैँची तौलमा डिजिटल काँटाको प्रयोग अनिवार्य गर्ने बुँदा आचारसंहितामा समेटिएका छन् । त्यस्तै प्याक गर्दा लौरा तथा घोचाले नघोच्ने, ढुवानी गर्दा पानीबाट जोगाउने र ढुवानीको क्रममा सडक पेटीमा जथाभावी राखेर सर्वसाधारणलाई सास्ती नदिने प्रतिबद्धता जनाएका छन् ।

 गोरखापत्र

विशेष