उत्तर कोरियाले भन्यो : अमेरिकामाथि कुनै पनि दिन हाइड्रोजन बम प्रहार हुन सक्छ
प्योङयाङ । युरोपमा उत्तर कोरियाली सांस्कृतिक सम्बन्धका विशेष प्रतिनिधि एलेग्जेन्ड्रो काओ डी बेनोले कुनै हमलाको सुइँको पाएमा अमेरिकामाथि हाइड्रोजन बम खसाल्न उत्तर कोरिया तयारी अवस्थामा रहेको चेतावनी दिएका छन् ।
उत्तर कोरियाले हालै गरेको हाइड्रोजन बम र क्षेप्यास्त्र परीक्षणपछि उत्तर कोरियामाथि थप नाकाबन्दी लागेका बेला बेनोको यस्तो भनाइ बाहिर आएको हो । उनले अहिलेको अवस्थामा उत्तर कोरियाले अमेरिकाका कुनै पनि सहरलाई निसाना बनाउन सक्ने शक्ति भएको उल्लेख गरेका छन् । अलेक्जेन्ड्रो काओ डी बेनोलाई उत्तर कोरियाली नेता किम जोङ उनका सबैभन्दा नजिकका व्यक्तिका रूपमा लिइन्छ ।
परमाणु परीक्षणपछि दुई साताभन्दा कम समयमा उत्तर कोरियाले जापानको भूमिमाथिबाट अर्को मिसाइल परीक्षण गरिसकेको छ । उत्तर कोरियाले लगातार आफ्नो परमाणु कार्यक्रमलाई जारी राखेपछि तनाव झनै बढ्दो अवस्थामा छ ।
एलेक्जेन्ड्रो काओ डी बेनोले बीबीसीसँग कुराकानी गर्दै भने, ‘अमेरिकाका सबै वैज्ञानिकलाई यो थाहा होला कि जुन मिसाइल परीक्षण गरिएको छ, तिनीहरू कम उचाइका बाबजुद लामो दूरी तय गर्न सक्छन् । यसलाई चार हजार किलोमिटरभन्दा टाढा पठाउन सकिन्छ । यसको अर्थ अमेरिकाका लगभग सबै सहरसम्म पुग्न सक्छन् ।’
उनले यसका अत्तिरिक्त परमाणु परीक्षण पनि गरेको उल्लेख गर्दै यसबाट उत्तर कोरियाले आफ्नो परमाणु क्षमता देखाइदिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘संसारलाई अब हाम्रो प्रविधि र वैज्ञानिक क्षमताबारे जानकारी भयो होला ।’
उत्तर कोरियाली सेनाले मिसाइलले ७ सय ७० किलोमिटर उचाइबाट ३ हजार ७ सय किलोमिटरको दूरी तय गरेको जनाएको छ । काउ डी बेनोले भने, ‘डोनाल्ड ट्रम्पलाई अब आफ्नो खेल समाप्त भएको थाहा भइसकेको छ, तर संसारका अघि टेलिभिजनमा आफू बलियो रहेको देखाएर ढोंग पिटिरहेका छन् र अमेरिकालाई फेरि महान् बनाउने प्रयास गरिरहेका छन्, अर्कोतर्फ कुनै गम्भीर स्थितिबाट बच्ने र सुरुवाती सहमति बनाउन पहिलेदेखि नै कुराकानी चलिरहेको छ ।’
उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिकाले लगातार चेतावनी दिइरहेको छ । तर उत्तर कोरियामाथि यसलाई लिएर कुनै असर परेको देखिएको छैन । यसैबीच राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले आर्थिक नाकाबन्दीले काम नगरेमा वासिंगटनसँग सैन्य कारबाहीको विकल्प समेत बाँकी रहेको बताएकी छन् ।
उत्तर कोरियाले जापानी भूभागमाथिबाट गरेको क्षेप्यास्त्र परीक्षणपछि बसेको राष्ट्र संघ सुरक्षा परिषद्को आकस्मिक बैठकले प्योङयाङलाई यस प्रकारका गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । सुरक्षा परिषद्ले यसलाई उक्साहटपूर्ण कार्य भन्दै क्षेप्यास्त्र परीक्षणको कडा निन्दासमेत गरेको छ । उत्तर कोरियामाथि यो परीक्षणलाई लिएर थप कडा प्रतिबन्ध भने नलगाइने भएको छ ।
उत्तर कोरियाले एक महिनाको अवधिमा जापानी आकाशमाथिबाट दुईवटा क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । उत्तर कोरियाली समाचार संस्थाले भनेको छ, ‘नेता किम जोङ उनको अन्तिम लक्ष्य अमेरिकासरह हैसियत बनाउने रहेको छ ताकि अमेरिकाले सैन्य विकल्पबारे कुरा गर्ने दुस्साहस नगरोस् । ’
नेता किमले भनेका छन्, ‘हामीले धेरै शक्तिशाली भएको देखाउनेहरूलाई स्पष्ट रूपमा देखाइदिनुपर्छ कि असीमित प्रतिबन्ध तथा नाकाबन्दीका बाबजुद हाम्रो देशले पारमाणविक शक्ति हासिल गर्ने लक्ष्य कसरी प्राप्त गर्छ ।’
सुरक्षा परिषद्को बैठकमा अमेरिकाले यसको सारा जिम्मेवारी रुस र चीनमाथि राखिदिएपछि शक्ति राष्ट्रबीच नै विवाद भएको छ । रुसी राजदूत भ्यासिली नेबेन्जियाले कूटनीतिबाट समाधान गर्नु एकमात्र विकल्प भएको बताएका छन् ।
महाशक्ति राष्ट्र विभाजित
उत्तर कोरियाले हालै गरेको मिसाइल परीक्षणलाई लिएर विश्वका महाशक्ति राष्ट्र विभाजित भएका छन् । केही दिनअघि उत्तर कोरियामाथि प्रतिबन्ध लगाउँदा एकजुट रहेका शक्तिराष्ट्रमा दरार पैदा भएको हो ।
अमेरिकाले उत्तर कोरियालाई सम्झाउने जिम्मेवारी रुस र चीनको भएको बताएको छ । अमेरिकाले चीन उत्तर कोरियाको मुख्य सहयोगी भएको र रुसको पनि प्योङयाङसँग राम्रो सम्बन्ध रहेको भन्दै दुवै देशले उत्तर कोरियालाई सम्झाउनुपर्ने बताएको हो ।
चीनले भने अमेरिका आफ्नो जिम्मेवारीबाट पन्छिन चाहेको आरोप लगाएको छ । उसले उत्तर कोरियालाई सम्झाउने जिम्मेवारी उसको पनि भएको बताएको छ । रुसले भने अमेरिकाको सो भनाईलाई उक्साउ बयानबाजी भएको बताएको छ । उत्तर कोरियाले हालै जापानी भूभागमाथिबाट प्रहार गरेको क्षेप्यास्त्रले अमेरिकी भूभाग गुआमसम्म मार हान्न सक्छ ।
दक्षिण कोरियाली सेनाका अनुसार ७ सय ७० किलोमिटर माथि पुगेर जापानको होक्काइदो हुँदै ३ हजार ७ सय किलोमिटर पर गएर समुद्रमा खसेको थियो । इन्टरनेशनल इन्स्ट्युट अफ स्ट्रेटिजिक स्टडिजका जोसेफ डेम्पसेले उत्तर कोरियाको यो सबैभन्दा लामो दुरी पार गर्न सक्ने मिसाइल भएको बताएका छन् ।
उत्तर कोरियाको यो परीक्षणलाई अमेरिका, चीन, जापान, रुसलगायतका राष्ट्रले आलोचना गरेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले यो संकट कम गर्नका लागि प्योङयाङसँग सीधा वार्ता गर्नुपर्नेमा जोड दिएका छन् ।
गत सोमबार मात्रै राष्ट्र संघ सुरक्षा परिषद्ले शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेकोमा उत्तर कोरियालाई दिइने तेल र कपडासहित महत्वपूर्ण साम्रग्री निर्यात गर्न नपाउने गरी कडा प्रतिबन्ध लगाएको थियो । त्यसको चार दिनपछि नै उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको हो । अमेरिकी विदेशमन्त्री रिक्स टिलरसनले भने अब प्योङयाङलाई नियन्त्रण गर्ने जिम्मेवारी रुस र चीनको भएको बताएका छन् ।