News

सडकमा भेटिएको घोरलको गरियो उद्धार

सडकमा भेटिएको घोरलको गरियो उद्धार

जाजरकोट । छिन्चु जाजरकोट सडकको भुरचौर स्थित सडकमा भेटिएको घोरलको उद्धार गरिएको छ । सम्बन्धित जंगलमै लिएर छोडेर घोरलको उद्धार गरिएको हो ।

नेपालगञ्जबाट खलंगा तर्फ आउँदै गएको ना ६ ख ४२१७ नम्बरको बसले शनिवार रातीको समयमा बाटोमा बसिरहेको घोरल फेला पारेको थियो । यात्रुले घोरललाई मार्न खोजेका थिए तर, बसमा सवार जिल्ला वन कार्यालयका वन रक्षक रुद्रबहादुर शाही र सोही बसका चालकले घोरललाई छोपेर जिल्ला वन कार्यालय पुर्याएका थिए ।

सम्बन्धित निकायसँगको परामर्शमा घोरलको प्राकृतिक बास स्थानमा नै छोडिदिने भन्ने निर्देशन बमोजिम आईतबार स्थानिय प्रशासनको रोहवरमा पुनः भुरचौरको जंगलमा छोडिएको निमित्त कार्यालय प्रमुख ऋषभदेव खनालले बताए । करिव एक वर्षको भाले घोरल चार फिट लम्बाई र साढे दुई फिट उचाईको रहेको निमित्त प्रमुख खनालले जानकारी दिए ।

घोरल स्वस्थ नै रहेको छ । सो घोरल गाडीको लाईटले भाग्न नसकेको उनले बताए । संरक्षित जंगली जनावरको सुचीमा रहेको घोरल केही बर्ष पहिले धेरै पाईने गरेकोमा चोरी शिकारी र वनजंगल विनासका कारण पछिल्लो समय लोप हुँदै जान थालेको छ ।


–दीपबहादुर घर्ती

विशेष