आफूले १२५ करोड घोटाला गरेको समाचार लेखेको भन्दै नागरिक दैनिकविरुद्ध खड्काद्वारा मुद्धा
काठमाडौं । नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा लेखेको समाचारलाई लिएर निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले ८० करोड रुपैयाँबराबरको क्षतिपूर्ति दाबी गर्दै नागरिक दैनिकविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।
नागरिक दैनिकले आयल निगममा भएको भ्रष्टाचारको भन्डाफोर गर्दै प्रकाशित समाचार, लेख तथा सम्पादकीयबाट आफ्नो गालीबेइज्जती भएको दाबी गर्दै खड्काले भदौ १ गते दायर गरेको उक्त मुद्दाको म्याद बिहीबार प्रकाशनगृहमा अदालतका कर्मचारीले बुझाएका छन् ।
गनागरिक दैनिकका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, प्रधानसम्पादक गुणराज लुइँटेल तथा संवाददाता दिलीप पौडेललाई विपक्षी बनाइएको उक्त मुद्दामा जनही २० करोड रुपैयाँका दरले क्षतिपूर्ति भराउन माग गरिएको छ । क्षतिपूर्ति दाबीका हिसाबले सम्भवतः प्रकाशन गृहमाथि दायर गरिएको यो सबैभन्दा ठूलो मुद्दा हो ।
पेट्रोलियम पदार्थको एकाधिकारसहित व्यापार गरिरहेको नेपाल सरकारको आधिकारिक वितरक निगममा जग्गा खरिद, पेट्रोलियम पदार्थ भण्डारणलगायत विषयमा भइरहेको संस्थागत अनियमिततताबारे नागरिक दैनिकले विगत केही दिनयता अनुसन्धानात्मक समाचार प्रकाशित गर्दै आएको छ । ती समाचार संसदीय समितिको छानबिन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीसमेतका आधारमा प्रकाशित भएका छन् ।
‘मैले असल नियतले नेपालमा पेट्रोलियम पदार्थको सुरक्षित भण्डारण बढाउन खोजेको नेपाल आयल निगमको सेवामा प्रतिस्पर्धात्मक रूपमा जनतालाई सहज रूपमा सेवा दिन खोजेको कार्यलाई सम्मानित गर्नुको सट्टा कलंकित गरी करोडौं रकम अनियमितता गरेको समाचार प्रकाशन गर्ने प्रतिवादीहरूले मजस्तो इमानदार राष्ट्रसेवकलाई अपमानित गरी बेइज्जती गरेको हुँदा प्रतिवादीहरूले आफैंले उल्लेख गरेको समाचारको आधारमा निजहरूबाट जनही रु. बीस करोड क्षतिपूर्ति रकम भराउन मनासिब हुने हुँदा प्रतिवादीबाट उपरोक्त क्षतिपूर्तिको रकम भराई र मुद्दामा लागेको खर्चसमेत भराईपाउन सादर अनुरोध गर्छु,’ खड्काको फिरादपत्रमा उल्लेख छ । निगमको अनियमितता विषयमा समाचार, लेख तथा सम्पादकीय लेखेर नागरिक दैनिकले गालीबेइज्जती ऐन, २०१६ को दफा ३ उल्लंघन गरेको पनि खड्काको जिकिर छ ।
खड्काले पत्रिकामा विभिन्न शीर्षकमा कानुनविपरीत रकम लिई कार्य गरेको पुष्टि गर्न खोजेको तर ती सबै आरोप झुठा भएको दाबी गरेका छन् । ‘नेपाल आयल निगमको व्यापार विस्तार गर्न, बजारीकरण गर्न लिइएको निर्णय हो । जनसंख्या विस्तार भएझै पेट्रोलियम पदार्थ वितरण एवं ग्यास वितरण गर्न स्थानसमेत विस्तार गर्नुपर्ने हुन्छ’, खड्काको फिरातदपत्रमा लेखिएको छ । उनले अमुक व्यापारीको एकाधिकार तोडी आफूले बजारमा प्रतिस्पर्धा भित्र्याउन खोजेको साथै निगमलाई नाफा हुँदा देश र जनतालाई समेत नाफा हुने आधारमा काम गरेको भन्दै आफूमाथि लागेका आरोपको बचाउ मुद्दामार्फत गरेका छन् ।
खड्काद्वारा नागरिकविरुद्ध दायर उक्त मुद्दाको विषयमा प्रतिक्रिया दिँदै नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले मिडियाले लेखेबापत संगठित रूपमा आक्रमणको सामना गर्नुपर्ने अवस्था आएको बताएका छन् । ‘मिडियालाई लेखेबापत नियोजित रूपमा यो मुद्दा आएको छ । यसबाट मिडियाको अभिव्यक्ति स्वतन्त्रता जोगाउन राज्यका निकाय चनाखो हुनुपर्ने देखिएको छ ।’
नागरिक दैनिकबाट