सरकारी अनुगमनलाई सकारात्मक रुपमा लिनुपर्छः मन्त्री प्रधान
काठमाडौं । रक्षा मन्त्री भिससेनदास प्रधानले सरकारी अनुगमनलाई सकारात्मक रुपमा लिन आग्रह गरेका छन् । उनले बजारमा देखिएको विकृति र विसंगती हटाउँदै उपभोक्ताले उपभोग गर्ने वस्तुलाई गुणस्तरीय बनाउन अनुगमनलाई प्रभावकारी बनाइएको बताएका हुन् ।
‘व्यवसायीलाई निरुत्साहित गर्न बजार अनुगमन गरिएको होइन’, मन्त्री प्रधानले भने,‘गुणस्तरमा वृद्धि गर्न र उपभोक्तालाई ठगिनबाट जोगाउनु सरकारको कर्तव्य हो ।’
मंगलबार राजधानीमा फाष्टफुट एसोसियसनको तेह्रौ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै रक्षा मन्त्री प्रधानले फास्टफुट एसोसियसनले उपभोक्तहरुको हितलाई ध्यानमा राखेर व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । उनले आफू पनि फास्टफुटको पारखी भएको बताउँदै मन्त्री भएपछि जान नपाएको बताए । ‘बहुदलिय व्यवस्थाको स्थापनासँगै फाष्टफुट व्यवसाय पनि फस्टाएको छ, यो पनि उपलब्धी हो’,मन्त्री प्रधानले भने । उनले अधिकार उपभोग गर्दा आफ्नो दायित्व र कर्तव्य पनि नर्बिसन व्यवसायीहरुलाई आग्रह गरे ।
कार्यक्रममा फाष्टफुट एसोसियसनका अध्यक्ष धनबहादुर श्रेष्ठले व्यसायीहरुले गुणस्तरमा ध्यान दिएको बताउँदै आगामी दिनमा अझ व्यवस्थित गर्दै लैजाने बताए । "स्वच्छ खाना स्वस्थ्य जीवन हाम्रो पहिचान, फाष्टफुडहरुको समृद्धि विकास गर्नु हाम्रो अभियान" भन्ने नारालाई आगामी दिनमा प्रभावकारी रुपमा कार्यान्वय गर्दै लैजाने एसोसियसनका महासचिव हिमाल श्रेष्ठले बताए ।
एसोसियसनमा १ सय ७० वटा फाष्टफुट व्यवसायी आबद्ध रहेका छन् । एशोसियसनले आफ्नै लगानीमा राजधानीको बुद्धनगरमा जग्गा खरिद गरेर भवन निर्माणको कार्य समेत अगाडि बढाएको छ ।
quality fast food