News ओटोमोबाइल

अभिक ज्योतिको व्यापार लुटको जगमा

अभिक ज्योतिको व्यापार लुटको जगमा

काठमाडौं । नेपालमा पहुँच र पैसा हुनुपर्छ, माथिकालाई सेटिङ मिलाएर जनता जति लुटे पनि हुन्छ । लुटको साम्राज्यमा को को होलान खेलाडी भन्ने भ्रम पाल्न आवश्यक नै छैन । किनभने नेपालआजले एक से एक नाफाखोरहरुको विवरण प्रस्तुत गर्दै आएको छ । पछिल्लो पात्र बनेका छन् नेपाल जनरल मार्केटिङका मालिक अभिक ज्योति ।

यो कम्पनीले बेच्ने भनेको हिरो कम्पनीको मोटरसाइकल हो । कम्पनीका मालिक नेपालकै ज्योति ग्रुपका हुन् । यो ग्रुप नेपालमा प्रतिष्ठित नै हो । तर यो प्रतिष्ठाको साम्राज्य लुटको पृष्ठभूमिमा टिकेको पाइएको छ ।

हामीले यो दावी त्यसै गरेका भने होइनौं । मन्त्री र अनुगमनमा आउनेलाई मिलाएपछि जति मुनाफा राखेर मोटरसाइकल स्कुटी बेच्दा पनि हुनेरहेछ भन्ने उदाहरण यहि नेपाल जनरल मार्केटिङ र यसका मालिकले प्रमाणित गरेका छन् ।

यदि यो कम्पनीका मालिक अभिक ज्योतिलाई नेपालकै एक नम्बर नाफा खोर भनेर कसैले भन्यो भने उनीमाथि अन्याय हुन्छ । किनभने उनी शेखर गोल्छाको हाराहारीमा पुग्न सकेका छैनन् । कारण, उनले मोटरसाइकल र स्कुटीमा राखेको मुनाफा शेखरको तुलनामा अलिकति कम छ । सम्भवतः उनी शेखरको प्रतिस्पर्धामा जान प्रयासरत छन् ।

नेपाल जनरलले बेच्ने हिरोको १२५ सिसी भएको सुपर स्प्लेन्डरमा ४३ प्रतिशत भन्दा बढी नाफा राखेका छन् ज्योतिले । नेपालमा कालोबजारी नियन्त्रण गर्ने ऐनले २० प्रतिशतभन्दा बढी नाफा राख्नु कालोबजारी हो भनेको छ । यो कम्पनीले बेच्ने ग्ल्यामर बाइकमा पनि ४१ प्रतिशत भन्दा बढी नाफा राखिएको छ । यी त केही उदाहरण मात्रै हुन् । सबैजसो ब्रान्डमा अनुचित मुनाफा राखिएको छ । यो धन्दा वर्षौंदेखि चलिरहेको छ । सम्भवतः चल्छ पनि ।

यो धन्दा ज्योति ग्रुपको नौलो होइन । वर्षौदेखि सञ्चालन भइरहेको तर हालै सार्वजनिक भएको मात्रै हो । नेपालमा यसरी धन्दा चलाउने एक गिरोह नै रहेको पनि रहस्य खुल्दै आएको छ ।

नेपाल जनरलको लुटका विषयमा अभिक त मिडियासँग फेस गर्नै चाहँदैनन् । उनको कार्यालयमा राखिएकी रहिछन आफूलाई पत्रकारीताको गुरु ठान्ने सितल दाहाल । उनले भनिन्, ‘तपाईहरुलाई के टाउको दुःखाई हामीले जति नाफा राखे पनि ?’

लुटको यस्तो साम्राज्यबारे आपूर्तिमन्त्री शिवकुमार मण्डल भन्छन्, ‘यस्तो मैले पनि थाहा पाएको छु । आधिकारिक सूचना खोजिरहेको छु । चाँडै अनुगमनमा जान्छु वा पठाउँछु । ’

यस्ता धन्दाबारे उपभोक्ता अधिकारवादीहरु पनि बेखबर भने छैनन् । तर उनीहरुसँग गर्ने कुनै अधिकार छैन । उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ भन्छन्, ‘भन्सार छुटेको मूल्यमा २० प्रतिशत नाफा राखेर व्यापार गर्नै सक्दैनौं भन्ने व्यापारीहरु छन् । हामीले सक्नु हुन्न भने नगर्नुस् भन्ने गरेका छौं ।’

विशेष