News Technology

राजपत्रमा प्रकाशित सूचना मोबाइलबाटै

राजपत्रमा प्रकाशित सूचना मोबाइलबाटै

काठमाडौँ  । अब नेपाल राजपत्रमा प्रकाशित सूचना मोबाइलमै हेर्न पाइने भएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले ‘मोबाइल एप्लिकेशन’ निर्माण गरेसँगै सबै सूचना तथा जानकारी मोबाइलबाट हेर्न सकिने व्यवस्था गरेको हो ।

उक्त मोबाइल एप्लिकेशनमा पुराना तथा नयाँ राजपत्र सजिलै पढ्न सकिनुका साथै राजपत्रमा प्रकाशित सामग्रीको विषय वा प्रकाशनको मितिबाट आफूले खोजेको राजपत्र खोज्न सकिने व्यवस्था गरिएको छ ।

चाँडै नै यो एप्लिकेशनमा सरकारका विभिन्न निकायबाट जारी हुने प्रेस–विज्ञप्तिसमेत उपलब्ध गराइने विभागका निर्देशक लोकराज शर्माले जानकारी दिए । “यो एप्लिकेशनमा अहिले १० वर्ष अगाडिदेखिका राजपत्रमा प्रकाशित सूचनालाई समावेश गरिएको छ, आगामी दिनमा यसलाई अझ अगाडि बढाएर लैजान्छौँ,”–निर्देशक शर्माले भने ।

मुद्रण विभागले बनाएको राजपत्रलाई उक्त विभागसँग समन्वय गरेर सूचना प्रविधि विभागले मोबाइल एप्लिकेशन मार्फत बाहिर ल्याएको हो । उक्त विभागले राजपत्रमा छापिएको सूचनालाई २४ घण्टामा मोबाइल एप्समा समाबेश गरिसक्ने जनाएको छ ।

यसभन्दा अगाडि राजपत्रमा प्रकाशित सूचनालाई मुद्रण विभागले आफ्नो वेभसाइटमा राख्दै आएको थियो । मोबाइल एप्लिकेशनमा राख्न लागेको भने यो पहिलोपटक हो ।

उक्त एप्लिकेशन शुभारम्भ गर्दै विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले प्रविधिको युगमा यस्ता एप्लिकेशनले ठूलो महत्व राख्ने बताए । उनले एप्लिकेशनमा सम्पूर्ण सूचना राखेर कागजविहीन मन्त्रालय निर्माण गर्न सकेमात्र यस्ता एप्लिकेशन तथा वेभसाइट निर्माणले सार्थकता पाउने बताए ।

मन्त्री बोहराले विदेशमा विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेका नेपाली वैज्ञानिकलाई स्वदेशमा ल्याउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मुद्रण विभागबाट राजपत्रमा प्रकाशित सूचनालाई मोबाइल एप्लिकेशन मार्फत आम जनतासमक्ष पुर्याउन विभागले गरेको कामको प्रशंसा गरे । उनले मोबाइल लिनेको संख्या बढ्दै गएको अवस्थामा यो एप्लिकेशनले सार्थक रुप लिने स्पष्ट पारेका छन् ।

विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा सञ्जय शर्माले सार्वजनिक सेवालाई चुस्त र दुरुस्त बनाउने उद्देश्यका साथ यो एप्लिकेशन प्रयोगमा ल्याइएको बताए । 

Mobile Apps

विशेष