News

आधुनिक प्रविधिको प्रयोग गरी घाँस उत्पादन

आधुनिक प्रविधिको प्रयोग गरी घाँस उत्पादन

बाबियाचौर, म्याग्दी । म्याग्दीका एक किसानले आधुनिक प्रविधिको प्र्रयोग गरेर घाँस उत्पादन गरेका छन् ।

बेनी नगरपालिका–९ तोरीपानीस्थित धौलागिरि व्यावसायिक बाख्रा फार्मका सञ्चालक आनन्द रिजालले ‘हाइड्रोफोनिक’ प्रविधिको प्रयोग गरेर घाँस उत्पादन गरेका हुन् । माटोबिना नै पानीको सहायताले उत्पादन गरिने घाँसले दानासरह पौष्टिक तत्व दिने र दानाको लागत घट्ने उनी बताउँछन्न् ।

दानाका रुपमा प्रयोग हुने गहुँ, जौ र मकैलाई भिजाएर पातलो टे«मा रुमालले छोपेर अँध्यारो कोठामा पानीको मात्रा र तापक्रम मिलाएर राखेपछि आठ दिनमा घाँस तयार हुन्छ । परीक्षण सफल भएपछि उनले सोही प्रविधि प्रयोग गरेर घाँस उत्पादन गर्न थाल्नुभएको छ । एक किलो दानाबाट १२ किलो घाँस उत्पादन हुने रिजालले बताए ।

विसं २०७१ देखि सञ्चालित सो फार्ममा उन्नत बोयर र बोयर क्रस जातका बाख्रापालन गरिँदै आएको छ । छिटो हुर्कने, तौल बढी हुने, रोग कम लाग्ने बोयर जातको बाख्रापालनबाट चाँडो आम्दानी लिन सकिने रिजालले बताए । करिब १७० किलोसम्म तौल हुने बोयर जातको खसी–बोका व्यावसायिक हिसाबले उपयोगी भएकाले स्थानीय जातको बाख्रा विस्थापित गरेर बोयर क्रस गराएर पाल्न थालेको उनले बताए ।

सो फार्मबाट बोयर बोका र स्थानीय जातको बाख्राबाट जन्मिएका पाठापाठी बीउका रुपमा वार्षिक बिक्री हुने गरेको छ । तीस किलोको बोकालाई रु ५० हजारसम्ममा बिक्री गरिन्छ । करिब रु आठ लाखको लागतमा स्थापित सो फार्ममा तीन जनाले रोजगारी पाएका छन् । वार्षिक रु चार लाखसम्म आम्दानी हुने रिजाल बताउँछन् । हाल सो फार्ममा ४६ वटा बाख्रा रहेका छन् । 

विशेष