News

आयोगले कडाइका साथ आचारसंहिता पालना गराउने

आयोगले कडाइका साथ आचारसंहिता पालना गराउने

काठमाडौं । आगामी तेस्रो चरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्नरगराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ ।

अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचार–प्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फीरुपमा आलोचना र आरोप खेपिरहेको आयोगले आगामी निर्वाचनमा भने आचारसंहिता उल्लंघन गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्ने अठोट व्यक्त गरेको हो ।

स्थानीय तह निर्वाचन प्रचार–प्रसार गर्नेक्रममा वीरगन्जमा भएको कार्यक्रममा निर्वाचन आचारसंहिताविपरीत चुनाव चिह्नअंकित टोपी लगाएको भनी पूर्वप्रधानमन्त्री माधव नेपालसँग स्पष्टिकरण सोधिसकेको आयोगले अब कसैलाई पनि नछोड्ने चेतावनी दिएको छ ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले भने–‘सबैभन्दा निर्वाचन आचारसंहिताको उल्लंघन सरकारबाटै भएको छ भन्ने हामी निष्कर्षमा पुगेका छौं, निर्वाचन आयोगको जानकारीबिनै आयोगको सचिव सरुवा गरियो, आचारसंहिताको पालना नगर्ने काम कहीँ–कतैबाट भएको छ भने त्यो सरकारबाटै हुनेगरेको छ ।’

अघिल्ला दुईओटा निर्वाचनमा केन्द्रीयस्तरबाट खटिएका अनुगमन टोलीबाट अपेक्षा गरेअनुरुपको कार्यसम्पादनको स्थिति ज्यादै न्यून रहेको निष्कर्ष निकाल्दै आयोगले आगामी निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेलाई प्रमुख जिल्ला अधिकारीको सहयोगमा ठाउँका ठाउँ कारबाही गर्न निर्देशन दिएको हो ।

अनुगमनमा जाने टोलीलाई निर्वाचन व्यवस्थापनको अध्ययन गर्ने, आचारसंहिता पालना भएरनभएको निगरानी गर्ने, आवश्यक परे नियन्त्रणमा लिइ कारबाही गर्ने तथा जिल्ला न्यायाधीश र प्रमुख जिल्ला अधिकारीको कार्यशैलीकोसमेत अध्ययन गर्ने अधिकार प्रदान गरिएको छ ।

अनुगमनमा खटिजाने टोलीलाई शुक्रबार प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले निर्वाचन प्रचार–प्रसारलाई खर्चिलो र तडक–भडक रोक्न निर्भिक र निष्पक्ष भएर काम गर्न अनुगमनकर्तालाई निर्देशन दिए ।

अनुगमन टोलीले निर्वाचन प्रचार–प्रसार कानुनअनुरुप भएरनभएको, पर्यवेक्षकले आचारसंहितापालना गरेरनगरेको, निर्वाचनसम्बन्धी काम कारबाही स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा भएरनभएको तथा राजनीतिक दल तथा उम्मेदवारले सहजरुपमा प्रचार–प्रसार गर्न पाएरनपाएकालगायतका विषयमा आयोगमा नियमितरुपमा प्रतिवेदन बुझाउनुपर्नेछ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गरी नयाँ नेपालको जग बलियो बनाएर गणतन्त्र, संघीयतालाई स्थायित्व प्रदान गर्दै मुलुकलाई समृद्धिको सुनौलो मार्गतर्फ अघि बढाउने योगदान पुर्‍याउन पनि आयोगले अनुगमन टोलीलाई निर्देशन दिएको छ ।

nirbachan aayog ethics

विशेष