कोमल ओली सोमबार एमालेमा प्रवेश गर्दै, संसद् बन्ने सम्भावना
काठमाडौं । राप्रपाकी केन्द्रिय सदस्य गायिका कोमल ओली एमालेमा प्रवेश गर्ने भएकी छिन् । राप्रपाको निर्वाचित केन्द्रिय सदस्य रहेकी कोमल सोमबार एमालेमा प्रवेश गर्न लागेकी हुन् ।
कोमल ओलीसँगै दाङका व्यवसायी एवं कांग्रेस नेता बलिभद्र राना पनि एमालेमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ । राना र ओलीलाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं दाङ जाने भएका छन् ।
राप्रपा विभाजनपछि निराश बनेकी ओलीले एमालेका नेताहरुसँग छलफल अघि बढाएकी हुन् । उनले यसबीचमा एमाले प्रवेश गर्नेहरुको एउटा सूची नै बनाएकी छिन् ।
राप्रपामा केन्द्रीय सदस्य जितेर पनि जिम्मेवारीविहीन बनाइएको गुनासो गर्दै एमालेमा प्रवेश गर्न लागेकी ओलीले पार्टीमा पाइने जिम्मेवारीका बारेमा समेत नेताहरुसँग छलफल गरेको बताइएको छ । उनी रेडियो नेपालको जागिर छाडेर पूर्णकालीन राजनीतिमा संलग्न भइसकेकी छिन् ।
कोमल ओलीले स्थायी कमिटी सदस्य शंकर पोखरेलमार्फत एमाले प्रवेशका लागि वार्ता चलाएकी हुन् । पोखरेल र ओली दाङको एउटै क्षेत्रका हुन् । दाङको तुलसीपुर र घोराही उपमहानगरपालिका सहित बहुसंख्यक स्थानीय तह जितेपछि एमाले दाङमा प्रभाव बढाउने रणनीतिमा छ ।
गायिका कोमल ओली र नायिका रेखा थापा एकसाथ राप्रपामा प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए । राप्रपा फुटेपछि ओली कमल थापा समूहमा थिइन् भने रोखा चाहिँ पशुपतिसमशेर राणा समूहमा लागेकी छिन् ।
ओली एमालेमा प्रवेश गरे पनि रेखाले भने पार्टी परिवर्तनको निर्णय गरेकी छैनन् ।
कोमल ओलीलाई एमालेले प्रदेशसभाको प्रत्यक्ष वा प्रतिनिधिसभाको समानुुपातिकतर्फको सांसद बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ । जताबाट भए पनि कोमल अब एमालेबाट सांसद बन्ने सम्भावना रहेको उनी निकट स्रोतले बताएको छ ।