News

दैनिक दुई करोडको खसीबोका बिक्री

दैनिक दुई करोडको खसीबोका बिक्री

कपिलवस्तु । चाडपर्व भित्रिएसँगै जिल्लाबाट दैनिक रु दुई करोडभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खसीबोका काठमाडाैँ पठाउने गरिएको छ । 

घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि भएको छ । व्यापारीले दैनिक १० देखि १५ ट्रक खसीबोका काठमाडौँ पठाउने गरेका छन् । जिल्लाको चन्द्रौटास्थित खसीबजारमा दशैंँको अवसरमा स्वदेशी तथा विदेशी खसीबोकाको कारोबार अत्यधिक हुने गर्छ । 

स्थानीय तथा भारतको बहराइच, कल्पी, सुल्तानपुर, कानपुरलगायतका व्यापारीले खसीबोका ल्याई काठमाडाैँ लगायत देशका अन्य शहरमा पठाउने गरेका छन् । भारतीय व्यापारीले कृष्णनगर नाकाहँदै खसीबोका चन्द्रौटा बजार ल्याउने गरेका छन् । 

चन्द्रौटाबाट एकदिनमा १२ ट्रकसम्म खसीबोका काठमाडौंँ पठाउने गरेको भारतीय व्यापारी हलिम कुरैसीले बताए । “माग भए बमोजिम खसीबोका पठाउन सकेका छैनौँ,” उनले भने । 

विगत लामो समयदेखि भारत उत्तर प्रदेशको बहराइच र नानपाराका भारतीय व्यापारीले काठमाडाैँमा खसीबोकाको व्यापार गर्दैआएका छन् । दशैँंका बेला खसीबोकाको माग धान्न गाह्रो हुने गरेको बहराइचका व्यापारी अवरास मुसलमानले बताए । यहाँबाट बाबरी, जमुना पारी र स्थानीय जातका खसीबोका काठमाडौँ पठाउने गरिएको छ । एउटा ट्रकमा २५० देखि ३०० सम्म खसीबोका पठाउने गरिएको उनको भनाइ छ । कृष्णनगर भन्सार कार्यालयका अनुसार असोज १ गतेदेखि हालसम्म करिब आठ हजार भारतीय खसीबोका नेपाल भित्रिएका छन् । 

dashain goats

विशेष