News

नेपाली बालबालिका बेचिने क्रम बढेको तथ्यांकसहित राष्ट्रसंघद्वारा देउवाको ध्यानाकर्षण

नेपाली बालबालिका बेचिने क्रम बढेको तथ्यांकसहित राष्ट्रसंघद्वारा देउवाको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रसंघले नेपाली बालबालिका छिमेकी भारत तथा अफ्रिकी मुलुकमा बेचिने क्रम बढ्दो रहेको जनाएको छ । यो समस्याबारे नेपाल सरकार गम्भीर नभएको र बेचबिखन रोक्न आवश्यक कदम नचालेकोमा आफ्नो ध्यानाकर्षण भएको पनि राष्ट्रसंघले जनाएको छ ।


न्यूयोर्कस्थित मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसंघीय अधिकारीहरुले घर र पढाई छाड्न बाध्य भएका तथा जोखिममा रहेका बालबालिकाप्रति चनाखो रहन पनि नेपाल सरकारलाई आग्रह गरे । पछिल्लो समय प्राकृतिक प्रकोपका कारण नेपालमा ८० हजारभन्दा बढी बालबालिका शिक्षाको पहुँचबाट वन्चित हुनुपरेको पनि राष्ट्रसंघको तथ्यांक छ ।

बेलायतका पूर्व प्रधानमन्त्री गोल्डेन ब्राउन नेतृत्वको समूहले राष्ट्रसंघ महासभामा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली टोलीलाई पनि नेपाली बालबालिकाको अवस्थाबारे जानकारी गराएको थियो । ब्राउनले नेपालको द्वन्द्वकालमा बालबालिकाको समस्या र शिक्षाको पहुँचबारे पनि धारणा राखेका थिए ।

त्यही समयदेखि नै नेपालका बालबालिका भारत र अन्य मुलुकमा बेचिने गरेको तथ्यांक उनले प्रस्तुत गरेका हुन् ।

‘नेपालबाट ठूलो संख्यामा बालबालिका तस्करी गरेर भारत र अन्य देशमा बेचिन्छन् । मानव तस्करहरुले संगठित रुपमा बालबालिकाको डरलाग्दो व्यापार गरिरहेका छन् । राष्ट्रसंघमात्र होइन, नेपाल सरकारले पनि त्यसलाई रोक्न कदम चाल्नैपर्छ । आरम्भमा हामीले बालबालिकालाई विद्यालय फर्काउने र बेचबिखन हुने अवस्था रोक्ने नै हो,’ उनले भने ।

ब्राउन विश्वव्यापी शिक्षाका लागि राष्ट्रसंघका विशेष दूत हुन् । उनले विश्वका बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने अभियान नै चलाएका छन् ।

विश्वमा हरेक ६ सेकेन्डमा एक बालबालिका विस्थापित भइरहेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालको अवस्थाका बारेमा विवरण प्रस्तुत गरेका थिए ।

कान्तिपुर

विशेष