उपराष्ट्रपतिपुत्र दिपेशले आफ्नै नेतालाई हावा भनेपछि हंगामा
सामाजिक संजालमा सामाजिक सेवाका तस्विर सार्वजनिक भएपछि चर्चित बनेका उपराष्ट्रपतिपुत्र दिपेश पुन सामाजिक संजालकै कारण विवादित भएका छन् । माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उपाध्यक्षसमेत रहेका पुनले माओवादीका नेता एंव साहित्यकार विश्वभक्त दुलाल आहुतीमाथि गरेको टिप्पणी विवादित बनेको हो । नेपालको पहिलो सहिद अछामका बलदेब शाही हुन् भनि आहुतीले लेखेको एक स्टाटसमा पुनले कडा प्रतिक्रिया जनाएपछि धेरैको ध्यान तानिएको छ । आहुतीले सो स्टाटसमा पोखराको पृथ्वी चोकबाट लखन थापाको शालिक हटाइएको सन्दर्भलाई प्रतिगामी कदमको संज्ञा दिँदै नेपालको पहिलो शहिद शाही भएको उल्लेख गरेका थिए ।
उतिसारो जनचाँसोमा नरहेका शाहीलाई आहुतीले प्रथम शहिदका रुपमा स्मरण गरेपछि दिपेशले आक्रोश पोखे । उनले लेखिदिए–तपाईजस्तो नेताले यस्तो हावा कुरा नगर्नुहोस् । कविता र उपन्यास लेख्न हामीलाई नआउला तर इतिहासको अध्ययन हामीले पनि गरेका छौँ ।
यहाँ दिपेशले आहुतीमाथि केन्द्रीत कटाक्ष गरेका छन् । साहित्यिक चेतनाले युक्त आहुतीले लगत्तै रमाइलो प्रतिक्रिया दिए । उनले दिपेशलाई दिएको प्रतिक्रिया रोचक छ –इतिहास पढेको मान्छे यसरी उत्तेजित हुन किन पर्ने ? भन्ने प्रश्न सहितको प्रतिक्रियामा आहुतीले हावा कुरा भए हावामा बिलाउने भन्दै उत्तेजित नहुन दिपेशलाई सुझाएका छन् ।
दिपेशलाई राम्रो नजरले हेरेको भएपनि उनको शैलीले दुःखी तुल्याएको भन्दै अरु सामाजिक प्रयोगकर्ताले थप प्रतिक्रिया आहुतीको स्टाटसमा लेखेका छन् ।
दिपेशलगायतका केहीले गम्भीर आक्षेप लगाएपनि आहुतीले इतिहासको गम्भीर पक्षलाई उजागर गरेका छन् । चर्चामा नरहेका बलदेश शाही को थिए र उनलाई आहुतीले पहिलो शहिद किन भने ? सार्बजनिक जीबनमा रहेका आहुतीले तथ्य दिनेछन् भन्ने अपेक्षा सामाजिक संजाल प्रयोगकर्ताले उनीसँग ब्यक्त गरेका छन् ।