विदेश

अमेरिकी रक्षामन्त्री अफगानिस्तान पुग्दा विमानस्थलमा रकेट प्रहार

अमेरिकी रक्षामन्त्री अफगानिस्तान पुग्दा विमानस्थलमा रकेट प्रहार

एजेन्सी–। अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको केही बेरपछि बुधबार विमानस्थलमा रकेट आक्रमण भएको छ।

भारतको दुईदिने भ्रमणपछि फर्कने क्रममा रक्षामन्त्री म्याटिस अफगानिस्तानको ‘सरप्राइज भिजिट’मा नेटो प्रमुख जेन्स स्टोल्टनबर्गसँग काबुल पुगेका थिए।

काबुल विमानस्थलका प्रमुख याकुब रसौलीले विमानस्थलको उत्तरी भागस्थित वायुसेनाको ह्यांगरमा रकेट प्रहार भएको बताए। उनका अनुसार काबुलको डे सब्ज जिल्लाबाट दुई रकेट प्रहार भएको थियो। त्यहाँ युद्धरत तालिबान लडाकुले आक्रमणको जिम्मेवारी लिएको छ।

‘बिहान ११स्३६ बजे डे सब्ज जिल्लाबाट काबुल विमानस्थलमा दुई मिसाइल प्रहार भयो। आक्रमणबाट वायु सेनाको ह्यांगर र एउटा हेलिकोप्टर ध्वस्त भयो भने ३ हेलिकोप्टर क्षतिग्रस्त भएका छन्,’ प्रमुख रसौलीले भने, ‘तर कुनै मानवीय क्षति भने भएन।’

रक्षामन्त्री म्याटिस र नेटो प्रमुख स्टोल्टनबर्गले काबुलस्थित बहुराष्ट्रिय सेनाको निरीक्षण गर्नेछन्। उनीहरूले वरिष्ठ अफगान अधिकारीहरू र राष्ट्रपति असरफ घानीसँग भेट गर्नेछन् ।

विशेष