News

राष्ट्रपति भण्डारी देखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्मले दिए दशैंको शुभकामना

राष्ट्रपति भण्डारी देखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्मले दिए दशैंको शुभकामना

काठमाडौं । विजया दशमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन् ।

उनले दिएको शुभकामना सन्देशमा सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेकी छन् ।

विभिन्न जातजाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेको उनले सन्देशमा उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले महान पर्व वडादशैंले हिमाल पहाड तराई मधेश तथा पूर्व मेची देखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवं क्षेत्र क्षेत्र, जातजाति र समुदाय समुदायबीच आपसी भ्रातृत्व कायम गर्न समेत सफल रहोस् भन्ने कामना गरेकी छिन् ।

यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले विजयादशमीका अवसरमा राष्ट्रको निरन्तर समुन्नति र समृद्धिका साथै समस्त नेपालीमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्म निरपेक्ष मुलुक भएको र संविधानले सबै धर्म, संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने अधिकार प्रत्याभूत गरेको उल्लेख गर्दै संविधान कार्यान्वयनका क्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचन र आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनले मुलुकलाई आर्थिक समृद्धिको यात्रामा द्रुत रुपमा अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपालीहरुको महान् चाड बडा दशैंको अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले दिएको शुभकामना सन्देशमा जननिर्वाचित संविधानसभाले बनाएको संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको, शान्ति प्रक्रिया लगभग टुंगिएको र मुलुकमा बल्ल राजनीतिक स्थायित्व कायम भएको उल्लेख गरेका छन् ।

यसैगरी पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।

उनले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता स्थापित गर्दै जाने तथा आयातित संस्कृति र धर्मलाई निरुत्साहित गर्नुपर्ने बताए ।

सन्देशमा उनले नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् भन्ने कामना गरे । यस्तै विभिन्न दलका नेताहरुले पनि विजयादशमीको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

विशेष