सेनाले दियाे २८ पत्रकारलार्इ तालिम
काठमाडौँ । राष्ट्रिय सञ्चारमाध्यममा सेनासम्बन्धी विषयमा समाचार लेख्ने पत्रकारलाई नेपाली सेनाले आफ्नो सांगठनिक स्वरुप, भूमिका, जिम्मेवारी तथा विविध विषयमा नौ दिनसम्म प्रशिक्षण दिएको छ ।
उक्त प्रशिक्षणमा सहभागी पत्रकारलाई सैनिक मुख्यालयमा आज आयोजित प्रशिक्षण समापन समारोहमा नेपाली सेनाका उपरथी जगदीशचन्द्र पोखरेले प्रमाणपत्र प्रदान गर्दै सैनिक र पत्रकारको बेग्लाबेग्लै भूमिका देखिए पनि मुलुकको हित प्रवद्र्धन गर्ने साझा उद्देश्य रहेको बताए ।
प्रशिक्षणमा राजधानीबाट प्रकाशन तथा प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत २८ पत्रकार तथा रक्षा मन्त्रालय र नेपाली सेनाबाट एक एक अधिकृतको सहभागिता थियो । प्रशिक्षार्थीलाई राष्ट्रिय सुरक्षा नीति, नेपाली सेनाको विकास निर्माणसम्बन्धी कार्य, सूचनाको हक, नागरिक सैनिक सम्बन्ध, सुरक्षा निकायको भूमिका तथा राष्ट्रिय सेवा दलको महत्वबारे सम्बन्धित विषयका विज्ञले प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थीलाई सेना सम्बन्धमा सैद्धान्तिक ज्ञानका साथै स्थलगत अध्ययन भ्रमणसमेत गराइएको थियो ।
सडक निर्माण, शान्ति स्थापना, सैनिक कल्याणकारी कार्यक्रम, समावेशिता एवं सेनामा महिला सहभागिता तथा प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा सेनाको भूमिकाबारे प्रशिक्षार्थीलाई सैद्धान्तिक र स्थलगत अध्ययन भ्रमण गराइएको थियो । रक्षा पत्रकारलाई नेपाली सेनाले यस्तो प्रशिक्षण यसअघि चार पटक सञ्चालन गरिसकेको छ । यस्ता कार्यक्रमबाट नागरिक र सेनाबीच सम्बन्ध विस्तार तथा राष्ट्र एवं राष्ट्रियताको संवद्र्धनमा योगदान पुग्ने विश्वास गरिएको छ । अमेरिका, भारत, पाकिस्तान र बेलायतजस्ता मुलुकमा पनि यसखाले प्रशिक्षण सञ्चालन हुने गरेको बताइएको छ ।