उत्तर कोरियाले गर्यो हाइड्रोजन बमको सफल परिक्षण, ६ दशमलब ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस
काठमाडौं । उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले हाइड्रोजन बमको सफल परीक्षण गरिएको बताएको हो । परीक्षण गरिएको हाइड्रोजन बम मिसाइल लोड गर्न सकिने खालको रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
हाइड्रोजन बम परीक्षणका लागि उत्तर कोरियाका नेता किम जोङ–उनले निर्देशन दिएका हुन् । उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले नेता किमले बम परीक्षणका लागि निर्देशन सम्बन्धी पत्रमा हस्ताक्षर गर्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको छ ।
हाइड्रोजन बमको सफल परीक्षणले देशको परमाणु कार्यक्रमको अन्तिम लक्ष्य पुरा हुने देखिएको उत्तर कोरियाले दाबी गरेको छ । ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाने गरी उत्तर कोरियाले गरेको हाइड्रोजन बमसहितको परमाणु परीक्षणपछि जापान तथा दक्षिण कोरियाले सुरक्षा सतर्कता बढाएका छन् ।