विदेश

यसरी आफ्नो पहिचान लुकाएर स्विजरल्याण्डमा पढेका थिए किमले

यसरी आफ्नो पहिचान लुकाएर स्विजरल्याण्डमा पढेका थिए किमले


प्योङयाङ, भदौ २० । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले यतिबेला विश्व समुदायलाई चुनौती दिइरहेका छन् । अन्तर्राष्ट्रिय समुदायले लगाएका विभिन्न प्रतिबन्धका बाबजुद उनले लगातार परमाणु कार्यक्रमलाई निरन्तरता दिदैं आएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यममा दैनिकजसो छाइरहेका उनका केही स्वभाव र विद्यार्थी जीवनका रहस्यबारे हालै एक शिक्षकले खुलासा गरेका छन् । यद्यपी ती शिक्षकको परिचय खुलाइएको छैन ।

स्विटजरल्यान्डको कोएनिजस्थित लिएबेफेल्ड–स्टेनहोल्जी नामक विद्यालयमा किम जोङ उनले अध्ययन गरेको बताइन्छ । त्यतिबेला उनले आफ्नो पहिचान लुकाएर विद्यालयमा भर्ना भएको पनि अन्तर्राष्ट्रिय संचारमाध्यमले खुलासा गरेका छन् ।

ती शिक्षकलाई उद्धृत गर्दै जनाइएअनुसार सात वर्षको उमेरमा किम जोङ उनले सन् १९९१ देखि सो विद्यालयमा अध्ययन सुरु गरेका हुन् । शिक्षकले एक विद्यार्थीका रुपमा किम निकै अनुशासित, महत्वाकांक्षी र मेहनती रहेको बताएका छन् । उनी जर्मन भाषामा निकै पोख्त रहेको बताइन्छ ।

उत्तर कोरियाका पूर्व राजदूत री सू योङ्गको संरक्षकत्वमा किमले स्विटजरल्याण्डमा पढाइ गरेका थिए । त्यतिबेला उनले उत्तर कोरियाली दूतावासका कर्मचारीको छोराका रुपमा पढाइ गरेको बताइएको छ ।

उनका सहपाठी माएक्रो इम्होफका अनुसार किम निकै रमाइलो स्वभावका थिए । उनी हमेसा ख्यालठट्टा गर्ने र सबैसँग राम्रो व्यवहार गर्ने मित्रका रुपमा चिनिन्थे । विभिन्न मुलुकका विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा उत्तर कोरियाको दुश्मन मुलुकका विद्यार्थीहरु प्रति पनि किमको कुनै पूर्वाग्रह नदेखिएको सहपाठीहरुको भनाइ छ ।

विशेष