विदेश

उत्तर कोरियालाई यसकारण सैन्य कारबाही गर्न सकेको छैन अमेरिकाले

उत्तर कोरियालाई यसकारण सैन्य कारबाही गर्न सकेको छैन अमेरिकाले

प्योङयाङ्ग । उत्तर कोरियाले हाल सम्मकै सबैभन्दा शक्तिशाली परमाणु परीक्षण सफल भएको दाबी गरिरहँदा अमेरिकाले सैन्य कारवाहीको विकल्पबारे विचार गरिरहेको चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन् ।

त्यसो त, अमेरिकाले यसअघि नै उत्तर कोरियालाई पटक–पटक चेतावनी दिइसकेको छ । अमेरिकाको चेतावनीका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिदैं आएको छ । किन उत्तर कोरियाले अमेरिकाको चेतावनीलाई बेवास्ता गर्दै आएको छ रु धेरैको मनमा प्रश्न उठ्नु स्वाभाविक हो ।

महशक्ति राष्ट्र अमेरिकालाई उत्तर कोरियाले टक्कर दिनुमा चीनसँग उत्तर कोरियाको सम्बन्ध नै मूख्य आधार हो । उत्तर कोरिया र चीन आपसमा मित्र राष्ट्रमात्र नभएर दुई मुलुकबीच सामरिक विषयमा भएको एउटा महत्वपूर्ण सम्झौताले उत्तर कोरियामाथि हमला गर्न बाँकी विश्वलाई निकै चुनौतीपूर्ण भएको हो ।

उत्तर कोरियाप्रति चीनको धारणा

उत्तर कोरिया र चीनबीच आर्थिक साझेदारीमात्र नभएर सामरिक साझेदारी पनि छ । यी दुई मुलुकबीच भएको एक सम्झौताअनुसार उत्तर कोरियामाथि हमला गर्नु भनेको चीनमाथि हमला गर्नु सरह हुन्छ ।

सन् १९६१ मा उत्तर कोरिया र चीनबीच एक सम्झौता भएको थियो । ‘चीन–उत्तर कोरिया पारस्परिक सहायता र सहयोग मित्रता सन्धी’ नाम दिइएको सो सम्झौतामा यी दुबैमध्ये कुनै पनि मुलुकमाथि बाह्य हमला भएको अवस्थामा एकले अर्कोलाई तत्काल सहयोग गर्ने उल्लेख छ । यो सन्धीको अवधि पछिल्लो पटक सन् २०२१ सम्मका लागि नविकरण गरिएको छ ।

यही सन्धीमा टेकेर उत्तर कोरियाले आफूलाई बाह्य मुलुकबाट सुरक्षित तुल्याएको छ भने चीनले आर्थिक हित हासिल गरेको छ ।

अमेरिका र चीनबीच सम्झौता

अमेरिका र चीनबीचको सम्झौताले पनि युद्धको अवस्थामा चीनले उत्तर कोरियालाई साथ दिने बाटो सुरक्षित राखेको छ । सन् १९५० देखि १९५३ सम्म उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको युद्धमा चीन र रुसले उत्तर कोरियाको साथ दिएका थिए ।

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युद्धविराम सम्झौता भएको थियो । यो सम्झौता अन्तर्गत अमेरिका र चीनबीच एउटा समझदारी भएको थियो, जसमा अमेरिकाले भविष्यमा उत्तर कोरियामाथि हमला गरेमा युद्धविराम तोडिएको मानिने छ । युद्धविराम तोडिएसँगै चीनलाई अमेरिकासँगको सम्झौता पालना गर्ने बाध्यता पनि अन्त्य हुन्छ ।

अमेरिकालाई खुला चुनौती

उत्तर कोरियाले अमेरिकालाई पछिल्लो समय खुला चुनौती दिदैं आएको छ । उत्तर कोरियाले गुआमस्थित अमेरिकी सैन्य बेस क्याम्पलाई निशाना बनाउने चेतावनी दिइरहेको छ । यसअतिरिक्त पछिल्लो समय उत्तर कोरियाद्वारा परीक्षण गरिएका क्षेप्यास्त्र र परमाणु हतियार अमेरिकालाई निशाना बनाउन केन्द्रीत रहेको दाबी गरिएको छ ।

अमेरिकाले बारम्बार उत्तर कोरियालाई परमाणु कार्यक्रमसम्बन्धी उत्तेजना नियन्त्रण गर्न चेतावनी दिए पनि उत्तर कोरियाले अमेरिकाका ती भनाइलाई बेवास्ता गर्दै लगातार परमाणु कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । भनिन्छ, चीन कै भरोसामा उत्तर कोरियाले अमेरिकाको चेतावनीका बाबजुद आफ्नो परमाणु शक्ति बढाइरहेको छ ।

उत्तर कोरियाले परमाणु शक्तिमा एकपछि अर्को उपलब्धि हासिल गरिरहँदा पनि सैन्य कारवाहीका लागि अमेरिकाले निर्णय गर्न नसक्नुमा उत्तर कोरियाको पक्षमा चीनको साथ रहनु नै महत्वपूर्ण कारण रहेको बताइन्छ । चीनले संयुक्त राष्ट्र, सुरक्षा परिषदमा पनि उत्तर कोरियाविरुद्धको सैन्य विकल्पलाई ‘भिटो’ प्रयोग गरी रोक्न सक्छ ।

विशेष