News समाज

जाजरकोटमा एक अलैची फर्मले दियो दुई जनालाई बाह्रै महिना जागिर

जाजरकोटमा एक अलैची फर्मले दियो दुई जनालाई बाह्रै महिना जागिर

दीपबहादुर घर्ती

जाजरकोट । भेरी नगरपालिका–१० नुहागाउँको छहरीमा रहेको छहरी अलैची कृषि फर्मले दुई जना बेरोजगार युवालाई बाह्रै महिना जागिर दिने भएको छ । रोजगारीका लागि नियमि रुपमा कालापहाड जाने दुई युवालाई मासिक रुपमा तलव दिने गरि छहरी अलैची कृषि फर्मले जागिर दिने भएको हो ।

गत बर्ष भदौमा घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय, जाजरकोटमा दर्ता भएको छहरी अलैची कृषि फर्मले भेरी नगरपालिका–१० का प्रशाद विक र नरबहादुर वुढालाई मासिक तलव दिने गरि जागिर दिएको छहरी अलैची कृषि फर्मकी प्रोपराईटर ईन्द्रा घर्तीले जानकारी दिईन् । तीन बिगाह (४२ रोपनी) क्षेत्रफल रहेको जग्गामा गरिएको अलैची फर्मको हेरचाह तथा गोडमेल गर्नका लागि आफूले प्रशाद विक र नरबहादुर वुढालाई नियमित मासिक तलव पाउनेगरी जागिर दिएको उनले बताईन । घर्तीले प्रशाद विकलाई मासिक ६ हजार र नरबहादुर वुढालाई मासिक ५ हजार रुपैया तलव दिने गरेकी छन् ।

लोग्ने सन्त सेर्पाको सहयोग अलैची फर्म खोलेकी ईन्द्रा घर्तीले हावा, पानी तथा भौगलिक उचाई सुहाउदो जात छनौट गरेर विरुवा लगाएमा जाजरकोटका अधिकांश भू–भागमा अलैची खेती गरेर आम्दानी लिन सकिने वताईन । अन्नबाली उत्पादन हैसियत नभएको जग्गामा अलैची खेती गरेर आम्दानी लिन सकिने घर्तीको तर्क छ । नगदे बाली समूह भित्र पर्ने छिटै आम्दानी लिन सकिने अलैचीलाई बिश्व बजारमा कालो सुन पनि भनिने गरिएको घर्तीको भनाई रहेको छ ।

अन्नबाली उत्पादन नहुने छहारीले ढाकिएका खोल्साहरुमा अलैची खेती गरेर आम्दानी लिन सकिन्छ घर्तीले भनिन्–“अलैची खेतीले वातावरणलाई सधैभरी सन्तुलित गर्दछ, पानीको श्रोत बढाउछ, बाढीपैरो जस्ता भू–क्षे हुनवाट जग्गा जमिनलाई जोगाउने गर्दछ ।”

ताप्लेजुङ्गमा यस अघि अलैची खेती गरि सकेकी घर्तीले जाजरकोट, भेरी नगरपालिका–१० नुहागाउँको छहरीमा उत्पादन गरेको अलैचीलाई ट्रेडमार्गको खोजी गरेर युएइ, पाकिस्थान, बंगलादेश जस्ता अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउने लक्ष्य रहेको बताईन । तीन बिगाह जमिनवाट उत्पादन भएको अलैचीलाई हालैका बर्षहरुमा भने, बिर्तामोड हुँदै इण्डियाको बजार मार्फत अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने सोच रहेको उनले बताईन ।

दुई बर्ष पहिले ६ लाख रुपैया हालेर किनेको छहरीको तीन बिगाह जमिनमा हाल सम्म १६ लाख रुपैया लगानी गरिसकेको घर्तीले बताईन् । उक्त जग्गमा २४ हजार अलैचीका विरुवा आफैले खरिद गरेर १० हजार विरुवा जिल्ला कृषि विकास कार्यालय, जाजरकोटको ५१ प्रतिशत छुट अनुदानमा डम्बर शाही र बिरमले जातका जम्मा ३४ हजार विरुवा लगाएको घतीले जानकारी दिईन । उपभोग नगरेर बाह्र बर्ष सम्म पटबाँजोको रुपमा रहेको जग्गालाई आफूले किनेर अलैचीको बिरुवा लगाएपछि दुई बर्ष भित्रै फल दिन सुरु गरेको उनले बताईन । बिरुवा लगाएको तीन बर्षपछि मात्र अलैचीले फल दिने भएता पनि नुहागाउँको छहरीमा दुई बर्षमै फल दिन सुरु गरेको उनले दावी गरेकी छन् ।

सुर्खेत बिरेन्द्रनगर नगरपालिका–१० भानपुर घर भएकी ईन्द्रा घर्तीले अलैची खेती सम्बन्धि विभिन्न तालिम तथा गोष्ठीमा सहभागी भएर आफूले थुप्रै सिप तथा प्राविधिक ज्ञान हासिल गरिसकेको बताईन । १५ सय देखि २ हजार मिटर उचाईमा रहेको जग्गामा राम शाही, १२ सय देखि १६ सय मिटर उचाईमा रहेको जग्गामा गोल शाही र साउने, ६ सय देखि ११ सय मिटर उचाईमा रहेको जग्गामा डम्बर शाही र ७ सय देखि १२ सय मिटर उचाईमा रहेको जग्गामा बिरमले जातको अलैची लगाउनु पर्ने ईन्द्राको भनाई रहेको छ । उनका अनुसार बिरुवा लगाएको २० बर्ष सम्म अलैचीले राम्रो फल दिने २० बर्ष पछि पुरानो बिरुवा फालेर नयाँ बिरुवा लगाउनु पर्ने बताईन ।

जिल्ला कृषि बिकास कार्यालय, जाजरकोटले अलैची खेती गर्नको लागि थालारैकर, सिमा, सुवानाउली, मजकोट, ढिमे, लहँ, डाडाँगाउँ, खलंगा, भूर लगाएतका ठाउँहरुलाई उपयुक्त क्षेत्रका रुपमा लिएको कृषि प्रसार अधिकृत मुकेश रामजालीले जानकारी दिए । गत बर्षको आंकडा अनुसार जाजरकोट जिल्लामा १४.९१ हेक्टर क्षेत्रफलमा २ मेट्रीटन अलैची उत्पादन भएर २२ लाख रुपैया जिल्लामा भित्रिएको जिल्ला कृषि विकास कार्यालय, जाजरकोटले जनाएको छ ।

सरल तथा सहज तरिकाले खेती गर्न सकिने, धेरै मेहनत गर्नु नपर्ने अलैची खेतीप्रति परम्परागत खेती प्रणालीमा रहेका किसानहरुको आकर्षण बढदै गएको अधिकृत रामजालीले बताए । कृषि समूहहरु गठन गरेर किसानहरु अलैची खेती गर्न तर्फ लागि परेको अधिकृत रामजालीको भनाई रहेको छ ।

किसानहरुको आकर्षण बढ्दै गएको अलैची खेतीलाई प्रबद्र्धन गर्न स्थानिय सरकारका रुपमा रहेका स्थानिय तहहरुले प्रयाप्त वजेटको व्यवस्था गर्नु पर्ने अधिकृत रामजालीले बताए । अलैची खेतीका लागि किसानहरुलाई चाहिएको बिरुवा र सिंचाईको व्यवस्था स्थानिय सरकारले गरिदिनु पर्ने अधिकृत रामजालीको तर्क छ ।

Alaichi jajarkot

विशेष