News

नौ दिनदेखि माडीमा विद्युत् सेवा बन्द

नौ दिनदेखि माडीमा विद्युत् सेवा बन्द

चितवन । दक्षिण चितवनको माडी नगरपालिकामा सञ्चालित विद्युत् सेवा नौ दिनदेखि अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई सास्ती भएको छ । यहाँ विद्युत् नहुँदा विद्युत्मार्फत हुने सम्पूर्ण काम ठप्प भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार भदौ १३ गते चितवन निकुञ्जको जमिनमुनि बिछ्याइएको तारमा देखिएको खराबी पत्ता लगाउन नसक्दा विद्युत् आपूर्ति रोकिएको हो ।

खराबी पत्ता लगाउन भारतबाट मेसिन मगाइए पनि अहिलेसम्म चितवन आइनपुगेको पौडेलले बताए । काठमाडौँ आइपुगेको मेसिनले दूरसञ्चारको विद्युत्सम्बन्धी काम गरिरहेको र एक÷दुई दिनमा चितवन आइपुग्ने जानकारी आएको उनको भनाइ छ ।

निकुञ्जको जमिनमुनि बिछ्याइएको तारमा लगातार समस्या हुँदा असारदेखि भदौको आजसम्म तीन महिनामा झण्डै ५० दिन विद्युत् सेवा अवरुद्ध भएको छ । स्थानीय गोविन्द न्यौपाने लगातारको विद्युत् अवरोधले टेलिफोन लाइनसहितका विद्युत्बाट हुने सबै काम प्रभावित हुँदै आएको बताए ।

यसअघि गएको असार ५ गते बन्द भएको विद्युत् सेवा १७ गते सञ्चालनमा आएको थियो । यस्तै साउन ४ गते पुनः अवरुद्ध भएकामा २८ गते मात्रै सञ्चालनमा आएको विद्युत् फेरि भदौ १३ गतेदेखि पुनः अवरुद्ध भएको छ ।

विद्युत् आपूर्तिको समस्या पत्ता लगाउन स्वदेशी प्रविधिले नसकेपछि भारतबाट विद्युत् फल्ट फाइन्डिङ ९खराबी पत्ता लगाउने० यन्त्र ल्याउने गरिएको छ । भरतपुर, चनौली, माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले उक्त परियोजनामार्फत यहाँ गएको मंसिरदेखि बिजुली बालेको थियो । एकपटक उक्त मेसिन ल्याउँदा रु साढे चार लाख जति खर्च लाग्छ ।

चनौली माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाका प्रमुख जगदीशचन्द्र जोशी जमिनमुनि पटकपटक समस्या देखिएकाले वैकल्पिक व्यवस्थाको विषयमा छलफल भइरहेको बताए । पटक पटक समस्या आए पछि अहिले प्राधिकरणले मेसिन किन्ने प्रक्रिया शुरु गरेको छ ।

विशेष