विदेश

‘बंगलादेशमा म्यानमारका शरणार्थी एकलाखभन्दा बढी’

‘बंगलादेशमा म्यानमारका शरणार्थी एकलाखभन्दा बढी’

बंगलादेश । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण बंगलादेश पुगेका रोहिंग्या मुस्लिम शरणार्थीको संख्या मंगलबार एकलाख भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।

छिमेकमा पर्ने देश म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाको कारण शरणार्थीको रुपमा त्यस समुदायका ती व्यक्ति बंगलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

म्यानमारको अल्पसंख्यक हजारौँ रोहिंग्या मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बंगलादेश छिर्ने सीमामा बसेका छन् ।

सोमबार म्यानमारको पश्चिमी राज्य राखिन र बंगलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा करिब २० हजार अधिकांश रोहिंग्या मुस्लिम समूदायका व्यक्ति बंगलादेश छिर्नको लागि पर्खेर बसेका र ८७ हजार बंगलादेशभित्र गएका संयुक्त राष्ट्रसंघद्धारा जारी प्रतिवेदनमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघले यो जानकारी दिएको भएपनि बंगलादेशी अधिकारीहरुका अनुसार भने गत अगस्त २५ बाट सोमबारसम्म बंगलादेश प्रवेश गर्ने म्यानमारका शरणार्थीको संख्या करिब ९२ हजार पुगेको थियो ।

मंगलबार यो संख्या एकलाख भन्दा बढी हुने अनुमान गरिएको सो समाचारमा जनाइएको छ । करिब दशदिन यतादेखि सुरु भएको हिंसाका कारण ढाकाले आफ्नो सीमा क्षेत्रमा नियन्त्रण गर्न छोडेको छ । हालैका दिनमा बंगलादेशी सीमा सुरक्षा गार्डहरु पनि म्यानमारका शरणार्थीहरुलाई त्यहाँबाट भाग्न र बंगलादेश छिर्न सघाइरहेका छन् ।

गत पाँच वर्षयता म्यानमारको राखिन राज्यमा जाती र धर्मका कारण हिंसा अत्यन्तै भड्किदै गएको छ । राष्ट्रसंघका अनुसार म्यानमारको रोहिंग्या राज्यमा सुरु भएको हिंसापछि बंगलादेश भागेर जाने क्रममा नाफ सीमा नदी पार गर्दा बगाएर सयौँ व्यक्तिको मृत्यु भइसकेको छ ।

म्यानमारबाट भागेर आएका व्यक्तिले शरणार्थी शिवीर भरिएको हुनाले स्थानीय व्यक्तिहरुले समेत शरणार्थीलाई सहयोग गर्ने गरेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

म्यानमारको राखिन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाको कारण सयौं रोहिंग्या मुस्लिमहरुको मृत्यु भएको छ भने लाखौंको संख्यामा विस्थापित भएर स्वदेश तथा विदेशमा शरणार्थीका रुपमा रहेका बताइन्छ ।

विशेष