News

आयआर्जनका लागि ‘उज्यालो बजार’

आयआर्जनका लागि ‘उज्यालो बजार’

पोखरा । दान गरेर होइन दैनिक उपभोग्य सामग्री खरिद गरिदिएर सेवामा समर्पित हुन ग्राहकलाई आग्रह गर्दै दृष्टिविहीन र शारीरिक अपांगता भएका व्यक्तिले पोखरामा ‘उज्यालो बजार’ सञ्चालनमा ल्याएका छन् ।

दृष्टिविहीन र अपांगता भएका व्यक्तिलाई व्यावसायिकता र उद्यामशिलतामार्फत आत्मनिर्भर बनाउने उद्देश्यका साथ उज्यालो प्रतिष्ठान नेपालको सक्रियतामा पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनीमार्केटमा उनीहरूले बजार सञ्चालनमा ल्याएका हुन् ।

अपांगता भएका व्यक्तिलाई अवसर प्रदान गर्ने लक्ष्य राखी ३० वटा सटर भाडामा लिई रु तीन करोडको लागतमा सो बजार सञ्चालनमा ल्याइएको उज्यालो प्रतिष्ठान नेपालका अध्यक्ष पार्वती शर्माले बताइन । नेपाल सरकार युवा स्वरोजगार कार्यक्रममार्फत विभिन्न समयमा तालीम प्राप्त २१ दृष्टिविहीन र एकजना अपांगता भएका गरी कूल २१ जनाबाट नमूनाका रुपमा सञ्चालित उज्यालो बजारको दिगोपनका लागि उद्योग कृषि सहकारी संस्थाको सहयोग रहेको छ ।

बजार हातामा विशेषगरी होटल, किराना पसल, कस्मेटिक, फलफूल, तरकारी, डेरी, फ्रेस हाउस, फेन्सीजस्ता पसल रहेका छन् । उज्यालो बजार आवश्यकताअनुसार पोखरा बजारका विभिन्न स्थानमा विस्तार गरिने अध्यक्ष शर्माको भनाइ छ । श्रीमान्–श्रीमतीमध्ये एकजना दृष्टि भएका परिवारलाई व्यापार व्यवसायमा छनोट गरिएको छ । युवा स्वरोजगार कार्यक्रमको रु ५० लाख समयमा प्राप्त नहुँदा बजार सञ्चालन गर्न ढिलाइ भएको उनले बताए ।

उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय सामग्री बिक्री वितरण गर्ने लक्ष्यअनुरुप सो बजारमा पोखरा लेखनाथ महानगरपालिका साथै छिमेकी गाउँमा उत्पादित ताजा तरकारी, फलफूललगायत शुद्ध भैँसीको दूध बिक्री भइरहेको छ । बजार एवं ग्रामीण क्षेत्रमा विभिन्न सामग्री बिक्री गर्ने, बजारका मुख्य चोक–चोकमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर जीविकोपार्जन गर्दै आएका दुष्टिविहीनका लागि व्यवसायमा आबद्ध हुनु अवसर र चुनौती दुवै रहेको प्रतिष्ठानका प्रचारप्रसार संयोजक श्रीकान्त सापकोटा बताए ।

दृष्टिविहीन भएर पनि प्राध्यापन पेशामा संलग्न रहँदै आएका उनले भने, “एकजना व्यापारीसँग न्यूनतम रु २५ हजारका दरले आर्थिक संकलन गरिएको छ, कतिपयले त उक्त रकमसमेत जुटाउन सकेका छैनन् छैन ।”

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उज्यालो प्रतिष्ठान नेपालको विभिन्न प्रकारका सदस्यतासमेत खुल्ला गरिएको बताउँदै संयोजक सापकोटाले व्यवसाय प्रवद्र्धनमा सहभागी भई सहयोग गरिदिनुहुन समाजसेवी, उद्योगपति, नागरिक समाज, विभिन्न सामाजिक सङ्घसंस्थालगायतलाई आग्रह गरे । कास्कीमा एक हजार ४४५ दृष्टिविहीनमध्ये पहिलोपटक २१ जनाले व्यवसाय सञ्चालन गरेर आफ्नो जीविकोपार्जनलाई सहज बनाएका छन् ।

“योग्यता, क्षमता र केही गर्ने आँट भएकाहरु पनि अवसरको खोजीमा छन्,” उज्यालो प्रतिष्ठानका उपाध्यक्ष एवं नेत्रहीन सङ्घ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले भने । दृष्टिविहीन र अपांगता भएका व्यक्तिलाई व्यवसाय सञ्चालन गर्न तीन महिनाको करिब रु तीन लाख भाडा छुट दिएको सिद्धार्थ मिनीमार्केटका सञ्चालक राजेश पराजुलीले बताए । प्रतिसटर भाडा मासिक रु तीन हजार ५०० कायम गरिएको छ ।

विशेष