विदेश

मुम्बइ बिस्फोटका दुई दोषीलाई मृत्युदण्ड

मुम्बइ बिस्फोटका दुई दोषीलाई मृत्युदण्ड

 एजेन्सी । सन् १९९३ को मुम्बइ बम विस्फोट काण्डका दोषी दुई जनालाई एक भारतीय अदालतले मृत्युदण्डको सजाय सुनाएको छ भने अन्य दुई जनालाई आजीवन कारावासको सजाय दिने फैसला गरेको छ ।

१२ मार्च १९९३ मा मुम्बइमा भएको शृंखलाबद्ध बम विस्फोटमा २५७ जनाको मृत्यु भएको थियो भने ७१३ जना घाइते भएका थिए । सो विस्फोट बाबरी मस्जिदमा भएको जातीय हिंसाको बदलामा दाउद इब्राहिमले गराएको मानिन्छ ।

सो विस्फोटपछि आतंकवादविरोधी कानुनअनुसार राज्य सरकारले गठन गरेको विशेषा अदालतले ताहिर मर्चेन्ट र फिरोज खानलाई मृत्युदण्डको सजाय सुनाएको हो । त्यसैगरी अबु सलेम र करिमुल्लाह खानलाई जन्मकैदको सजाय सुनाइएको छ । विस्फोटका अर्का दोषी रियाज सिद्दिकीलाई १० वर्ष जेल सजाय सुनाइएको छ ।

जन्मकैदका सजाय सुनाइएका अबु सलेमलाई सन् २००२ मा पोर्चुगलमा पक्राउ गरिएको थियो । २००५ मा उनलाई मृत्युदण्ड नदिने सर्तमा भारत ल्याइएको थियो । उनी मुम्बइ विस्फोटबाहेक अन्य हत्याका आरोपी पनि हुन् । यही काण्डमा मृत्युदण्ड दिइएका याकुब मेननलाई जुलाई २०१५ मा फाँसी दिइसकेको छ भने अर्का आरोपी मुस्तफा डोसाको मृत्यु भइसकेको छ ।

बलिउड अभिनेता सञ्जय दत्त पनि यही काण्डमा मुछिएका थिए । उनी २०१३ देखि २०१६ सम्म जेलमा परेका थिए ।

bomb blast mumbai

विशेष