News

थिमिको फोहोर ओखरपौवा नलगिने

थिमिको फोहोर ओखरपौवा नलगिने

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आव ०७३–०७४ मा रु छ करोड ७७ लाख २० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकामा १९१.१७ प्रतिशत वृद्धि गरी रु १२ करोड ९४ लाख ६० हजार संकलन गरेको छ । 

नयाँ जनप्रतिनिधिले १०० दिनमा गरेका काम तथा प्रगति आज सार्वजनिक गर्दै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जनप्रतिनिधि आएपछि प्रत्येक वडाध्यक्षलगायतले राजस्व संकलनमा कडाइ गरेपछि वृद्धि भएको जिकिर गरे । त्यसैगरी नगरपालिकाको कूल रु ७३ करोड ९८ लाख ८९ हजारको बजेटमध्ये नगरका प्रत्येक वडालाई प्रतिवडा रु एक करोड ४० लाखका दरले विनियोजन गरिएको छ । 

फोहोर व्यवस्थापनका लागि एउटा फोहोर संकलनको सवारी साधन र एउटा डोजर खरिद गरिएको जानकारी दिँदै श्रेष्ठले नगरको फोहोर अब ओखरपौवा लानुनपर्ने गरी थिमिमै व्यवस्थापन गरिने बताए । 

नगरप्रमुख श्रेष्ठले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गरिने बताउँदै सार्वजनिक एवं पर्ती जग्गाको पहिचान गरी संरक्षण गर्न रु एक करोड बजेट विनियोजन गरिएको जानकारी दिए । त्यसैगरी अशक्त र बिरामी नागरिकको सामाजिक सुरक्षाभत्ता नगरपालिकाले प्रत्येक चौमासिकमा घरघर गएर वितरण गर्ने व्यवस्था गरिएको जनाइएको छ । 

नगरपालिकाले नगरपालिका सञ्चालनका लागि विभिन्न निर्णय, आदेश र अधिकारपत्रको प्रमाणीकरण, कार्यविभाजन नियमावली, कार्यसम्पादन नियमावली, कार्यपालिका बैठक सञ्चालन कार्यविधि, नगरसभा बैठक सञ्चालन कार्यविधि निर्माण पनि गरेको छ । 

नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले नगरपालिकाको विकासका लागि जनप्रतिनिधिको भूमिका उल्लेख्य रुपमा अगाडि बढेकाले कर्मचारीलाई काम गर्न सहज भएको बताए ।

waste management

विशेष