News

जनावरको ‘डिएनए’ परीक्षण सुरु

जनावरको ‘डिएनए’ परीक्षण सुरु

ललितपुर । मानवको हुँदै आएको ‘डिएनए’ परीक्षण अबदेखि जनावरको पनि सुरु भएको छ । नेपाल विधि विज्ञान प्रयोगशालाले एक महिना पहिले मानिसको जस्तै जनावरको डिएनए परीक्षण सुरु गरेको हो । यसअघि नेपालमा जनावरको डिएनए परीक्षण सम्भव थिएन ।

जनावरको डिएनए परीक्षणले अपराध अनुसन्धानमा ठूलो सहयोग पुग्ने प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले बताए । उनले भने, “हामीले गर्ने अनुसन्धानको नतिजाबाट प्रहरीलाई अपराध अनुसन्धानको कारवाही अघि बढाउन सहयोग मिल्नेछ ।”

यसबाट वन्यजन्तु चोरी–सिकारीलाई नियन्त्रण गर्न पनि सहयोग पुग्ने कार्यकारी निर्देशक रिजाल बताउछन् । मासु, हड्डीलगायत जनावरको शरीरको कुनै पनि भाग भेटिएमा त्यसकै आधारमा प्रयोगशालामा परीक्षण हुने कार्यकारी निर्देशक रिजालले बताए । “मासु काटिएको भए त्यसका लागि प्रयोग भएका सामग्रीका आधारमा समेत कुन जनावर हो भनी पत्ता लाग्छ,”उनले भने, “अचानो, रगतको छिटालगायतबाट समेत पहिचान गर्न सकिन्छ ।”

मानवको डिएनए परीक्षणका लागि प्रयोग भएको उपकरणबाट नै जनावरको परीक्षण भएको हो । उपकरणमा केही कुरा मात्र थप भएको छ, उनले भने, “हामीले नयाँ उपकरण नै भित्राएको भने होइन ।”

एउटा जनावरको मासु भनेर अरुको बिक्री भइरहेकालगायत मुद्दामा पनि प्रयोगशालामा हुने परीक्षणले कारबाही अघि बढाउन सहयोग गर्नेछ । एक महिनामा प्रयोगशालामा चार मुद्दा परीक्षणका लागि आइसकेका छन् । जिल्ला वन कार्यालय र उपभोक्ता समितिले जंगली जनावरसम्बन्धी मुद्धा लिएर प्रयोगशालामा आएका हुन् ।

नेपालमा यसअघि जनावरको डिएनए परीक्षण नहुँदा धेरै मुद्दा त्यसै फिर्ता हुन्थे । अझै पनि धेरैलाई जनावरको परीक्षण सुरु भएको जानकारी नभएको कार्यकारी निर्देशक रिजालले बताए । उनले भने, “आम मानिसमा जानकारी पुगेपछि यहाँ आउने मुद्दा बढ्नेछ ।”

प्रयोगशालामा आएका चार मुद्दामा जंगली जनावरको शिकारसँग सम्बन्धित मुद्दा हुन् । बँदेलको मासु काटेर बिक्री गरेको मुद्दा परीक्षणका लागि केही दिन पहिले आइपुगेको थियो । बिक्रेताले झुक्काएर बँदेलको मासु बिक्री गरेको आशंकामा परीक्षण भएको थियो । परीक्षणले त्यो मासु बँदेलको नै भएको प्रमाणित गर्यो ।

अर्को मुद्दामा बाघको मासुको परीक्षण गरियो । बिक्रीका लागि लैजाँदै गर्दा पक्राउ परेको मासु परीक्षणका लागि प्रयोगशालामा पुर्याइएको हो । नेपालबाट चोरी शिकारी गरेर बाघ, चितुवालगायत जनावरको मासु विभिन्न देशमा अवैध रुपमा बिक्री हुने गरेको थियो । यसअघि परीक्षण नहुँदासमेत कतिपय अधिकारी जिल्ला वन कार्यालयबाट प्रयोगशाला आइपुग्थे ।

कार्यकारी निर्देशक रिजाल भन्छन्, “हामीसँग पनि प्रविधि नहुँदा उसै फर्काउन बाध्य थियौँ ।” गाई वा भैँसी, खसी वा कुकुरलगायत परीक्षण सहज रुपमा हुने उनी बताउछन् । नेपालमा गाई काट्न वा बिक्री वितरण रोक लगाएपनि काट्दा काट्दै भेट्दा मात्रै कारबाही हुने गरेको थियो । जनावरको डिएनए सम्भव भएपछि भने सानो प्रमाणको आधारमासमेत अनुसन्धान हुने भएको छ ।

विशेष