News

कामपाः सय दिनमा छयासी कामको थालनी

कामपाः सय दिनमा छयासी कामको थालनी

काठमाडौँ, २२ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले पद बहाली गरेको १०० दिनमा आफ्नो प्रतिबद्धतानुसार विकाससम्बन्धी ८६ काम थालनी भएको बताएका छन् । 

एक सय दिन पुगेका अवसरमा आज उनले आफूले गरेको कामको प्रगति सार्वजनिक गर्दै उनले गर्न चाहेका कतिपय काम आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएकाले पनि प्रतिबद्धता पूरा गर्न नसकिएको जानकारी गराए । 

एक सय दिन पूरा भएको अवधिमा ‘क्लिन द सिटी’ अभियानअन्तर्गत एक हजार ९५ मेट्रिक टन फोहर संकलन, ग्रिन द सिटी अभियानअन्तर्गत एक हजार ८०३ बिरुवा रोपण, ८८ वर्ष उमेर पुगेका कामपाका ज्येष्ठ नागरिकलाई रु १२ हजार महानगर भत्ता वितरण र फोहरबाट बिजुली निकाल्ने काम सम्पन्न भइसकेको जनाइएको छ । 

त्यसैगरी ज्येष्ठ नागरिकका लागि सार्वजनिक मनोरञ्जनात्मकस्थल र वाइफाइ जोन निर्माण, कौसी खेतीलाई प्रवद्र्धन, सांस्कृतिक सम्पदाको पुनःनिर्माण, बागदरबार भवन निर्माणका लागि प्रक्रियागत काम, प्रत्येक वडामा बाल क्लब निर्माण, सडकमा लत्रेका तार व्यवस्थापन, आकाशे पानीको संकलन र शुद्धीकरण, कामपा क्षेत्रभित्रका ८४ स्थानमा ढल निर्माणजस्ता कामको थालनी गरिएको प्रमुख शाक्यले बताए । 

स्थानीय तह निर्वाचनका समयमा आफूले गरेका प्रतिबद्धतामध्ये धरहरा पुनःनिर्माण, कामपा वरपर रहेका अन्य नगरपालिकासँग समन्वये, हेलो मेयर क्विक कार्यक्रम र मोबाइल एप्सजस्ता काम हालसम्म शुरुआतसम्म गर्न नसकिएको शाक्यले स्वीकारे । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट शाक्य कामपा प्रमुखमा विजयी भएका थिए । केही शुरु गर्न बाँकी रहेको प्रतिबद्धता छिट्टै शुरु गरिने बताइएको छ । 

Bidya Sundar Sakya Kathmandu Metro

विशेष