News

सुरक्षा नीतिमा नागरिक नै प्राथमिकतामा

सुरक्षा नीतिमा नागरिक नै प्राथमिकतामा

धुलिखेल । गृहमन्त्री जनार्दन शर्माले अबको सुरक्षा नीतिमा नागरिकप्रति जवाफदेहिता प्रमुख प्राथमिकतामा पर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा गृह मन्त्रालयले बिहिबार आयोजना गरेको गृह प्रशासन सुधार मार्गचित्र २०७४ बमोजिम आन्तरिक सुरक्षा नीति तर्जुमा प्रयोजनार्थ आयोजित कार्यशाला गोष्ठीमा उनले भने, “सुरक्षाको मूल आधार जनता नै हो ।”

उनले स्थानीय शासन ऐनलगायत तमाम ऐन र कतिपय नयाँ संरचनाका ऐन मन्त्रालयले बनाउँदै गरेको बताउँदै भने, “यो हाम्रो लागि एउटा अवसर र चुनौती पनि हो ।”

उनले समग्रमा हेर्दा राज्यले आफ्नो ठाउँबाट आफ्नो दायित्व पूरा गरिरहेको भए पनि समाजमा धेरै त्रास र समस्या देखिएकाले त्यसको समाधान गर्ने विषय आन्तरिक सुरक्षा नीतिमा समेट्नुपर्नेमा जोड दिए । मन्त्रालयले विभिन्न विज्ञको सुझाव लिएर ८४ बुँदे मार्गचित्र प्रस्तुत गरेको बताउँदै भने, “सुरक्षा चुनौतीलाई सामना गर्न मन्त्रालयको नीति, योजना, संरचना र संगठन त्यही स्तरमा हुन जरुरी छ ।”


सो अवसरमा गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले मुलुक विभिन्न जाति, भाषा, धर्मसँग सम्बन्धित रहेकाले आन्तरिक सुरक्षा नीति त्यसमा केन्द्रित गरेर बनाउन आवश्यक रहेको बताए । गृहसचिव लोकदर्शन रेग्मीले उत्कृष्ट विधि, प्रक्रिया र अनुभव हासिल गरिसकेका पूर्व सुरक्षा निकायका पदाधिकारीको सुझाव र संलग्नताबाट नै आन्तरिक सुरक्षा नीतिको मस्यौदा तयार गरिने जानकारी दिए ।

गृह प्रशासन सुधार मार्ग चित्र २०७४ बमोजिम आन्तरिक सुरक्षा नीति तर्जुमा प्रयोजनार्थ आयोजित कार्यशाला गोष्ठीमा ‘संघीयतामा आन्तरिक सुरक्षा ः चुनौती र आगामी रणनीति’ बारे छलफल हुने आयोजकले जनाएको छ । शुक्रबारसम्म चल्ने गोष्ठीमा चार कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।

विशेष