विदेश

ट्रम्प भन्छन् उत्तरकोरिया विरुद्ध सैन्य कारवाही गर्ने हाम्रो पहिलो प्राथमिकता होइन

ट्रम्प भन्छन् उत्तरकोरिया विरुद्ध सैन्य कारवाही गर्ने हाम्रो पहिलो प्राथमिकता होइन


वासिंटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध सैन्य कारवाही आफ्नो प्रशासनको पहिलो प्राथमिकता नरहेको बताएका छन् ।

परमाणु हतियारको लगातार परीक्षण गर्दै आएको उत्तर कोरियासँग अमेरिकाको वाकयुद्ध जारी छ । यद्यपि अमेरिकाले सैन्य कारवाही गर्ने आँट गर्न सकेको छैन ।

संयुक्त राष्ट्रसंघमा अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउन माग गरेको छ । उत्तर कोरियामाथि कच्चा तेलमा कटौति गर्न अमेरिकाले प्रस्ताव गरेको हो । तर अमेरिकाको सो प्रस्तावलाई रुसले ठाडै अस्वीकार गरेको छ । रुससँग राष्ट्रसंघमा भिटो प्रयोग गर्ने अधिकार सुरक्षित छ । त्यसैले पनि अमेरिकाको प्रस्ताव पारित हुने सम्भावना नदेखिएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई उत्तर कोरियाको भड्काउपूर्ण गतिविधि नियन्त्रणमा सहयोगका लागि आग्रह गर्दै आएका छन् । चीनले उत्तर कोरियालाई परमाणु कार्यक्रम स्थगित गर्न र अमेरिकालाई दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास रोक्न सुझाव दिएको छ ।

यसैबीच उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षणका लागि तयारी गरिरहेको समाचार प्राप्त भएको छ । केही अघिमात्र जेनेभामा संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूतले अमेरिकाका लागि आफूले बारम्बार परमाणु परीक्षण गरेर गतिलो ‘उपहार’ दिएको बताएका थिए । उनले यस्ता उपहार अझ दिन आफ्नो मुलुक तयार रहेको बताएका छन् ।

उत्तर कोरिया र अमेरिकाबीचको तनाव कम गर्नका लागि कुटनीतिक प्रयास प्रभावकारी हुन सकिरहेको छैन । अमेरिकाले सैन्य कारवाहीमा जान हिच्किचाइरहेको र उत्तर कोरियाले पनि परमाणु कार्यक्रम रोक्न अस्वीकार गरिरहेको अवस्थामा जारी तनाव कसरी अन्त्य होला भन्ने प्रश्नको सटिक जवाफ प्राप्त हुन सकेको छैन ।

विशेष