News

भ्रष्टाचार विरुद्ध सून्य सहनशिलता कायम गर्न जाजरकोटमा हस्ताक्षर संकलन

भ्रष्टाचार विरुद्ध सून्य सहनशिलता कायम गर्न जाजरकोटमा हस्ताक्षर संकलन

दीपबहादुर घर्ती

जाजरकोट । जिल्लामा हुने कुनै पनि भ्रष्टाचारका विरुद्ध सून्य सहनशिलता कायम गर्न जिल्ला सदरमुकाम खलंगामा शुक्रवार हस्ताक्षर संकलन गरिएको छ । भ्रष्टाचार विरुद्ध सून्य सहनशिलता कायम गर्न सञ्चालन गरिएको राष्ट्रिय अभियान अन्तरगत जाजरकोट जिल्ला सदरमुकाम खलंगामा हस्ताक्षर संकलन गरिएको हो ।

राष्ट्रिय अभियान अन्तरगत जिल्ला समन्वय समिति, जाजरकोटको आयोजनामा संकलन गरिएको हस्ताक्षरमा “म घुस खाँदिन, दिन्न र सहन्न” भन्ने प्रतिवद्धता जाहेर गरिएको छ । जिल्ला समन्वय समिति र सातवटा नगर तथा गाउँपालिकाका प्रमुख, उप–प्रमुख तथा अध्यक्ष, उपाध्यक्षवाट सुरु गरिएको हस्ताक्षर संकलनको मुख्य आयोजक जिल्ला समन्वय समिति रहेको थियो भने, सहयोगी संस्थाका रुपमा गैसस महासंघ, सुन्दर नेपाल संस्था सुर्खेत, हेल्भेटास नेपाल, नेपाल पत्रकार महासंघ, जाजरकोट र ईन्सेक रहेका थिए ।

जिल्लाका सवै जननिर्वाचित प्रतिनीधि, जिल्लामा क्रियाशिल सवै राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि, बिषयगत कार्यालयका प्रमुख तथा प्रतिनीधि, अन्य नागरिक तथा पेशागत संघ संगठनका प्रमुख तथा प्रतिनीधिहरुले उक्त हस्ताक्षर संकलनमा हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर संकलन अभियानमा सहभाागिहरुका विचमा कुरा राख्दै नेपाल पत्रकार महासंघ, जाजरकोट अध्यक्ष भीमबहादुर सिंहले “घुस लिन र दिने दुवै यो देशका सत्रु हुन्” भन्ने पृथ्वीनारायण शाहको भनाई अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । घुस लिनु र घुस दिनु मात्र भ्रष्टाचार नभएर गुणस्तरिय सेवा प्रवाह नगर्नु पनि झनै ठूलो भ्रष्टाचार भएको नागरिक समाज जाजरकोटका अगुवा राजेन्द्र विक्रम शाहले बताए ।

परिकल्पना गरिएको नयाँ तथा समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचारमूक्त र सुशासनयुक्त समाज निर्माणमा सवैले जोड दिनु पर्ने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश (सिपी) घर्तीले बताए । भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि नीति निर्माणकै तहवाट लागि पर्ने बताउदै माननिय जिल्ला न्याधीश लिलाराज अधिकारीले नागरिक राष्ट्रिय परिचयपत्र अबधारणालाई लागू गर्नु पर्ने, व्यतिगत कारोबार पनि बैंकिङ सिस्टमवाट गरिनु पर्नेमा जोड दिए ।

जननिर्वाचित प्रतिनीधिहरु नै भ्रष्टाचारको मुख्य श्रोत हुने बताउदै जिल्ला समन्वय समिति, जाजरकोटका उप–प्रमुख ज्ञानी प्रशाद शर्माले चुनावमा गरिएको खर्च उठाउनलाई जनप्रतिनीधिहरुनै भ्रष्टाचारमा अग्रसर हुने बताए । आफ्नो पाँच बर्षिय कार्यकाललाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त समृद्ध जिल्ला निर्माणमा लगाउने उप–प्रमुख शर्माले बताए ।

 

विशेष