विदेश

राजा र युवराजबीचको संवाद लगत्तै साउदीद्वारा कतारसँग वार्ता नगर्ने घोषणा

राजा र युवराजबीचको संवाद लगत्तै साउदीद्वारा कतारसँग वार्ता नगर्ने घोषणा

रियाद/एजेन्सी– साउदी अरबका युवराज र कतारका राजाबीच भएको टेलिफोन संवादको केही समयपछि नै साउदी अरबले कतारसँग कुनै प्रकारको कुराकानी गर्न अस्वीकार गरेको छ । यसअघि दुवै पक्ष वार्ताका माध्यमबाट अहिलेको संकट समाधान गर्न तयार भएका थिए । साउदी अरब, इजिप्ट, बहराईन, युएईसहितका राष्ट्रले कतारमाथि ५ जुनमा कूटनीतिक सम्बन्ध तोड्दै नाकाबन्दी लगाएका थिए ।

यी चार वटै देशले कतारमाथि आतंकवादी गतिविधिलाई बढावा दिएको आरोप लगाएका थिए । कतारले यो आरोपलाई अस्वीकार गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दुवै पक्षले गरेको अलग अलग कुराकानीपछि साउदी र कतारबीच टेलिफोन वार्ता भएको थियो । यो संकट सुरु भएपछि दुई देशबीच भएको यो पहिलो औपचारिक कुराकानी थियो ।

दुवै देशका सरकारी मिडियाले कतारका राजा शेख तमीन बिन हमाद अल थानी र साउदी राजकुमार मोहम्मद बिन सलमानबीच संकट समाधानका विषयमा कुराकानी भएको उल्लेख गरेका थिए । साउदी प्रेस एजेन्सीले कतारका राजाले यो संकट वार्ताबाट समाधान गर्न चाहेको र सबै विषयमा कुराकानी गर्न इच्छा जनाएका थिए ।

यी विषयमा साउदी अरब, बहराइन, इजिप्ट र युएईबीच कुनै सम्झौता भएपछि यो कुरा घोषणा गर्ने बताइएको थियो । यसैबीच कतारको समाचार एजेन्सीले साउदी राजकुमारले यो विवादित विषयमा हल निकाल्नका लागि कसैको सम्प्रभुतामा असर नपुग्ने गरी दुई राजदूत नियुक्त गर्न प्रस्ताव गरेका थिए । तर केहीबेरमा साउदी अरबले कतारमाथि कुराकानीलाई लिएर गम्भीर नभएको अरोप लगाउँदै कुनै प्रकारको वार्ता गर्न अस्वीकार गरेको हो ।

प्रोटोकलको विषयलाई लिएर वार्ता विग्रिएको बताइएको छ । कतारका मिडियाहरुले वार्ताको प्रक्रिया दोहाले सुरु गरेको भनेर स्पष्ट उल्लेख नगरेकोमा साउदी रुष्ट बनेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी र कतारका नेतालाई अलग अलग कुरा गरेर दुई देशका नेतालाई वार्ताको वातावरण बनाएका थिए ।

नाकाबन्दी लगाएका देशहरुले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका छन । ती माग मध्ये इरानसँगको सम्बन्ध तोड्नु पर्ने र कतारमा रहेका टर्कीका सेनाहरु फिर्ता पठाउनु पर्ने, अल जजिरा टेलिभिजन च्यानल बन्द गर्नुपर्ने लगायतका मागहरु मुख्य रहेका छन् ।

विशेष