प्रदेश–२ : जनता चलाख भए, भोज सबैको खाइदिने भोट ठिक लागेकोलाई दिने

प्रदेश–२ : जनता चलाख भए, भोज सबैको खाइदिने भोट ठिक लागेकोलाई दिने

वीरगञ्ज । पर्सागढी नगरपालिका–८ हरपुरका बासिन्दा शुक्रबार मध्याह्न बैठकमा भेला भई दस दिनपछि हुने निर्वाचनको जोडघटाउमा जुटे । पुराना दलको काम, नयाँ दलको क्षमता आँकलन गर्दै उनीहरूले कुनचाहिँ उम्मेदवारले समाजको विकास गर्न सक्छ भनी छलफल गरे ।

मतदातामाझ उम्मेदवारको व्यक्तित्वदेखि पार्टीले विगतमा गरेका विकास गतिविधिबारे चर्चा चलिरहेको छ । मत तान्न उम्मेदवारले दिनहुँजसो गर्ने भोजभतेर र आर्थिक प्रलोभनबारे समेत खुला छलफल भइरहेको छ । ‘भोजभतेरकै भरमा भोट दिने जनता पछि खाडलमा पर्छन् । विकास गर्ने, भेदभाव नगर्ने, समाजमा शान्ति कायम राख्ने, कम बोल्ने धेरै काम गर्नेलाई चुन्नुपर्छ,’ ७४ वर्षीय लंगटु रामले भने । उनकै भनाइमा सही थप्दै २५ वर्षीय रोहित रामले पनि भोज खुवाएकै भरमा भोट दिन नहुने विचार राखे । ‘उम्मेदवारको मूल्यांकन गनुपर्छ,’ उनले भने, ‘पैसाको भरमा चुनाव जित्ने उम्मेदवारले पछि विकास गर्दैन ।’

अर्का स्थानीय विजय साह कलवारको बुझाइमा यस्तो विकृति मौलाउनुमा मतदाता र कार्यकर्ता पनि उत्तिकै दोषी छन् । ‘घरदैलोमा सँगै हिँडेका कार्यकर्तालाई नास्ता, पेट्रोल र पैसा नदिए भोलिपल्ट नेतासँग हिँड्नै छाड्छन,’ उनले भने, ‘बरु मेरै खाऊ, अरूको नखाइदेऊ भन्ने बाध्यता छ ।’ उनी निकटका एक वडाध्यक्ष उम्मेदवारको साढे दुई लाख रुपैयाँ खर्च भइसकेको उनले सुनाए ।

गत महिना मात्र नगरपालिका घोषणा भएको पर्सागढीमा कांग्रेसबाट लोकनारायण यादव, एमालेबाट गोकर्ण पाठक, संघीय समाजवादी फोरमबाट ब्रिजमोहन चौधरी, माओवादीबाट धनबहादुर श्रेष्ठ मेयरका लागि चुनावी मैदानमा छन् । यहाँ १७ हजार ७ सय २३ मतदाता छन् ।

उम्मेदवारहरू विकासको मुद्दा अघि सार्दै घरदैलो अभियानमा जुटिरहेका छन् । थारू, पहाडी र मधेसी समुदायको बाहुल्य रहेको नगरमा त्रिपक्षीय भिडन्त हुने आँकलन गरिएको छ । एमालेका पाठक ०५४ बिरुवागुठी गाविसमा अध्यक्ष चुनिएका व्यक्ति हुन् । कांग्रेसले क्षेत्र नम्बर ३ का सचिवलाई मेयर उठाएको छ भने माओवादीले ०५४ मा एमालेबाट पञ्चरूखीको अध्यक्ष बनेका श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ । फोरमका तिवारी पञ्चायतकालमा बागबन्ना गाविसका मुखिया थिए । पछिल्लो समय थरूहट आन्दोलनमा सक्रिय उनी गत महिना मात्र फोरम प्रवेश गरेका हुन् ।
–कान्तिपुर दैनिकबाट

संम्बधित खबर

विशेष