News

राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक

राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २४ गते बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज आयोगमा बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

आयोगले सार्वजनिक गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम अनुसार, आगामी माघ ७ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन र प्रकाशित नामावलीमाथि दाबी विरोधको उजूरी दिने र माघ ९ गते उजूरीमाथि छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।

यसैगरी, माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, माघ ११ र १२ गते उम्मेदवारको विरोधमा उजूरी दिने, माघ १३ गते मनोनयनपत्र र उजूरीमाथि जाँचबूझ गरी निर्णय गर्ने र माघ १४ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम अनुसार, माघ १४ र १५ गते उम्मेदवारले नाम फिर्ता लिने, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान तथा माघ २४ गते बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको कार्यक्रम रहेको छ ।

यसैगरी, आयोगको आजै बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि प्रत्येक प्रदेशमा एक एकजना गरी ७ जना जिल्ला न्यायाधीशलाई यही पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशका उच्च अदालत रहेका जिल्ला सदरमुकाममा यही पुस २९ गते स्थापना गर्ने निर्णय बैठकले गरेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख गरी १ हजार ५०६ जना र प्रदेशसभाका ५५० सदस्य गरी कुल २ हजार ५६ जना मतदाता रहेका छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ ।

नेपालको संविधान अनुसार, स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रिय सभा सदस्यका लागि ५६ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

nirbachan aayog

विशेष