News

यसरी बित्यो गोविन्द केसीको २० घण्टा हिरासतमा

यसरी बित्यो गोविन्द केसीको २० घण्टा हिरासतमा

काठमाडौं । सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा। गोविन्द केसीलाई प्रहरीले मंगलबार बिहान ९ बजे नै अदालत पुर्‍याएको थियो । सर्वोच्चका रजिस्ट्रारको उपस्थितिमा हाजिरीमा हस्ताक्षर गरेपछि केसी एम्बुलेन्सभित्रै बसे ।

उनी अनशनमै रहेकाले दुई चिकित्सक पनि औषधिसहित सँगै थिए । उनीहरूले केसीको ब्लडप्रेसर जाँच गरिरहेका थिए । केसी अदालतभित्र प्रवेश गरेपछि बाहिर समर्थक र शुभचिन्तकको भिड लागेको थियो । सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति थियो ।

१०ः३० मा अदालतको इजलास खुल्यो । तर, ११ बजेसम्म केसी आराम गरेर बसिरहे । ११ बजे इजलास नम्बर २ मा न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे उपस्थित भए । केसी अस्वस्थ भएकाले आधा घन्टासम्म इजलास अघि बढ्न सकेन । साढे ११ बजे न्यायाधीशसमक्ष बयानका लागि उनी तयार भए । करिब डेढ घन्टापछि १ बजे ‘टिफिन ब्रेक’मा डा। केसी आराम गरेर बसे । २ बजेबाट पुनः इजलास सुरु भयो । ४ बजेसम्म बयान लिएपछि इजलास बन्द भयो । केसीलाई इजलासबाट निकालेर ४ः१५ बजे प्रहरी एम्बुलेन्समा राखियो । त्यहीँ उनको प्रेसर चेकजाँच गरियो । ५ः१५ बजेसम्म एम्बुलेन्समै राखियो । त्यसपछि केसीलाई लिएर प्रहरीको एम्बुलेन्स वीर अस्पताल पुग्यो ।

त्रिवि शिक्षण अस्पतालपरिसरबाट सोमबार साँझ ८ बजे पक्राउ गरेर डा। गोविन्द केसीलाई सीधै सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तमा लगिएको थियो । नेपाल प्रहरी अस्पतालको एम्बुलेन्समा प्रहरीका चिकित्सक टोली पनि साथैमा थिए । केसीलाई वृत्तको कार्यालय भवनको माथिल्लो कोठामा राखियो, जहाँ व्यवस्थित सुत्ने खाट, ओढ्ने, ओछ्याउने व्यवस्था छ । विगतमा पक्राउ परेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका प्रमुखहरूलाई पनि त्यही कोठामा राखिएको थियो । यो खबर नयाँ पत्रिका दैनिकमा छ।

विशेष