‘पृथ्वीनारायण शाहलाई नमान्ने नेपाली हैन’ (भिडियोसहित)
पृथ्वीनारायण शाहको शालिकमा १०८ फिट लामो माला
काठमाडौं । यस वर्षको पृथ्वीजयन्ती पनि पुस २७ गते भव्य र विशेष रुपमा मनाइयो ।
अघिल्ला वर्षभन्दा विशेष किन पनि रह्यो भने, गणतन्त्र स्थापनापछि सरकारले पहिलो पटक सार्वजनिक बिदा गर्दै औपचारिक रुपमै पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उनको जन्म जयन्ती मनाएको हो ।
राष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका विशिष्ट तहका व्यक्तित्व पृथ्वीनारायण शाहको शालिकअघि झुकेर फूलमाला लगाइ सम्मान गरे ।
यसबाहेक राजसंस्था सहित हिन्दुराज्यको पक्षमा अभियानरत शिव सेनाले त १०८ फिट लामो फूलको माला पृथ्वीनारायण शाहको शालिकमा पहिराइदियो ।
बाजागाजा र नारावाजीसहित सिंहदरबारको पश्चिमगेटमा भेला भएका हजारौँ नागरिकको नेतृत्व शिव सेनाले गरिरहेको थियो । सो क्रममा शिव सेनाका पदाधिकारीहरुले पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको भन्दै उनको सम्मान सधैँ गरिरहनुपर्ने बताए ।
पछिल्लो समय पृथ्वीनारायणलाई राष्ट्रनिर्माताको रुपमा अस्विकार गर्नेहरुप्रति लक्षित गर्दै शिव सेनाका अभियन्ताहरुले उनीहरुको विरोध पनि गरे ।
शिव सेनाका अध्यक्ष अनिल बस्नेतले आफ्नो मन्तव्यको क्रममा पृथ्वीनारायण शाहलाई नमान्ने मान्छे नेपाली नै हुन नसक्ने बताए ।
नेपाल आजसँगको संक्षिप्त कुराकानीका क्रममा शाहले नेपाली जनता र राष्ट्रवादी नेताले पृथ्वीनारायणका दिव्य उपदेशलाई आत्मसाथ गर्नुपर्ने बताए । त्यसो गर्नसके मात्रै नेपाल सम्मृद्धीतर्फ जाने उनको धारणा थियो । ‘पृथ्वीनारायण शाहको अटल प्रयासले विशाल नेपाल निर्मण भएको हुँदा पृथ्वीजयन्ती विशेष पर्वका रुपमा मनाउनुपर्छ,’ उनले भने ।
बस्नेतले वर्तमान समयमा पृथ्वीनारायण शाहको औचित्य झनै महत्वपूर्ण रहेको भन्दै पृथ्वीजयन्ती हरेक वर्ष भव्यता साथ मनाउनुपर्ने बताएका छन् । पृथ्वी जयान्तीको अवसरमा सिंहदबारस्थित पृथ्वीनारायण शाहको शालिकमा शिव सेनाका अभियन्ताहरुले १०८ फिट लामो माला चढाउँदै बाजागाजा घन्काए । सोही अवसरमा बिहीबार नेपालभर पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइयो ।