News

नख्खु कारागारको क्षमता विस्तार गरिने, एक हजार कैदी अट्ने

नख्खु कारागारको क्षमता विस्तार गरिने, एक हजार कैदी अट्ने

ललितपुर । नख्खु कारागार विस्तार भएर एक हजार जना अट्ने क्षमताको हुने भएको छ ।

पहिले झन्डै ५ सय क्षमताको कारागारमा अहिले ५ सय क्षमता थप हुन लागेको कागारागर प्रमुख टेकबहादुर केसीले बताए । पुरुष कैदी/बन्दी राख्ने २ सय ५० क्षमताको एउटा ब्लक र अर्को त्यति नै क्षमताको महिला ब्लक बनाइएको छ । पुरुषलाई राख्न बनाइएको ब्लकमा कैदी/बन्दी बस्न थालिसकेका छन् ।

महिला राख्ने ब्लक भने छिट्टै निर्माण सकिएर सञ्चालनमा आउने केसीले जानकारी दिए । 

'ठेकेदारले ढिलाइ गरेकाले केही समय लम्बियो, अब असारसम्ममा यहाँ महिला कैदी सारिने छ', कारागार प्रमुख केसीले भने । 

पहिले यहाँ सामुदायिक पुनःस्थापना केन्द्र (सिआरसी) र लागूऔषध पुनःस्थापना केन्द्र (डिआरसी) गरेर दुई वटा ब्लक भूकम्पका समयमा क्षतिग्रस्त भएकाले पुनःनिर्माण भइरहेको हो । लामो समयसम्म पालामा बसेका दुई वटा ब्लकका कैदी/बन्दी अस्थायी टहरामा बसिरहेका छन् ।

अस्थायी भनिने टहरा पनि पछिसम्म काममा आउने उल्लेख गर्दै कारागार प्रमुख केसीले भने, 'अस्थायी टहरा पनि कैदी/बन्दी राख्न वा कार्यालयका अरू कामका लागि प्रयोग गर्न मिल्ने खालका छन् ।'

कारागारमा कैदी/बन्दीका लागि मनोसामाजिक उपचार केन्द्र समेत निर्माण भइरहेको छ ।

lalitpur nakkhu jail

विशेष