News

दुई छोरा र गहनासहित बेपत्ता चैना अझै फेला परिनन्

दुई छोरा र गहनासहित बेपत्ता चैना अझै फेला परिनन्

कञ्चनपुर । छोरा र गहनासहित श्रीमती बेपत्ता भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६, कसरौलका २६ वर्षीय चेतु राना खोज्दै हिँडे पनि पत्तो लगाउन सकेका छैनन् ।

११ दिनअघि परिवारका सदस्यलाई जानकारी नै नदिई उनकी श्रीमती २२ वर्षीया चैनीदेवी राना दुई छोरासहित गहना र लत्ताकपडा बोकेर बेपत्ता भएकी हुन् । आफन्त र सम्भावित ठाउँमा श्रीमतीको खोजी गरे पनि फेला पार्न नसकेको चेतुले बताए ।

८ वर्षीय छोरा अजय र ६ वर्षीय छोरा अविसहित उनकी श्रीमती पुस १६ गते परिवारका सदस्य नभएको मौका छोप्दै घर छाडेर हिँडेकी हुन् । भएको गहना र छोरासहित श्रीमती भागेपछि निकै चिन्तित भएको रानाले बताए ।

‘माइतीसमेत गाउँमै छ,’ वडाध्यक्ष जगता रानाले भने, ‘भागेर जाने अरु ठाउँ नै छैन, कसैले बहकाएर भगाएर लगेका हुन सक्छ ।’

श्रीमानसँग ठाकठुक पर्दा म पनि मर्छु, छोरालाई पनि मार्छु भन्ने धम्की दिइरहन्थिन्,’ छिकेकीसमेत रहेका अध्यक्ष रानाले भने, ‘यसै कारणले धेरै ठाउँमा खोजिसकेका छौँ, पत्तो लागेको छैन ।’

खोजतलासका लागि परिवारका तर्फबाट नगरपालिकाको न्यायिक समिति र इलाका प्रहरी कार्यालय, झलारीमा समेत निवेदन दिइएको उनले बताए ।

प्रहरीले समेत बेपत्ता रानाको खोजी गरिरहेको भए पनि हालसम्म फेला भने पार्न सकेको छैन । चेलीबेटी बेचबिखनमा संलग्न दलालले बहकाएर लगेको आशंका परिवारजनले गरेका छन् ।

विशेष