News

खोटाङमा शृखलाबद्ध हत्या : प्रहरीको विशेष टोलीले हत्यारा पत्ता लगाउन सकेन

खोटाङमा शृखलाबद्ध हत्या : प्रहरीको विशेष टोलीले हत्यारा पत्ता लगाउन सकेन

खोटाङ । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्या गर्ने दोषी पत्ता लाग्न सकेको छैन।

२०७३ माघ २६ गते मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ विश्वकर्मा र २०७४ साउन ४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६, दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता लाग्न सकेका छैनन्।

घटनामा संलग्न दोषी पहिचानका लागि अनुसन्धान जारी रहे पनि पत्ता नलाग्दा प्रहरीमाथि नै प्रश्न उठेको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले बताइन्। लामो समयसम्म दोषी पहिचान नहुँदा तीन महिलाको हत्या रहस्यमय बन्दै गएको छ, उनले भनिन्, तीन महिलाको शृङ्खलाबद्ध हत्या हुनु जस्तो जघन्य घटनामा संलग्न अपराधीको पहिचान नहुँदा सर्वसाधारणमा त्रास फैलिएको छ।

खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले भने हत्याको विषयमा अनुसन्धान जारी रहेको बताए । सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रीताको शव कुसेऔँसीमा जङ्गलको बाटोभन्दा करिब ४० मिटर तल भिरमा भेटिएको थियो। घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।

यस्तै, स्याउला काटेर घर फर्कने क्रममा इलाका प्रहरी कार्यालय, हलेसीबाट पैदल करिब पाँच मिनेटको दूरीमा ज्ञानीमायाँको हत्या भएको थियो।

माइतीघर जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खु शिवालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन बनेको दोस्रो दिन फेला परेकी देवीको शव सडकभन्दा करिब ५ सय मिटर तल कम्मरमुनि कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले घटनालाई शंकास्पद मानिएको छ। घटनापछि नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन सकेको छैन।

महिलाको शृङ्खलाबद्ध हत्या भएपछि जिल्लास्थित महिला अधिकारकर्मीले तत्काल दोषी पत्ता लगाएर कानुनी कठ्घरामा ल्याउन प्रहरीलाई दबाब दिइरहेका छन्। उनीहरुले पटक–पटक प्रहरी कार्यालयमा पुगेर घटनाको विषयमा जानकारी मागिरहेका छन्।

विशेष