व्यापार

विदेशबाट फर्केका युवाद्वारा गाईपालन व्यवसायबाट महिनाकै लाखौं कमाइ

विदेशबाट फर्केका युवाद्वारा गाईपालन व्यवसायबाट महिनाकै लाखौं कमाइ

पाल्पा । पाल्पा रामपुरका गणेश आचार्यले ३ वर्ष खाडीमा बिताएर फर्किए पछि गाउँमै गाई पाल्न थालेका छन् । जर्सी र होलस्टिन जातका गाई पालेर आचार्यले खर्च कटाएर महिनामा ६० हजार रुपैयाँ कमाउछन् ।

उहाँ जस्तै ज्ञानराज पोखरेललाई पनि विदेशबाट फर्केपछि आम्दानीको बाटो बनेको छ गाईपालन व्यवसाय । विदेश गएर धेरै पैसा कमाउने र परिवारलाई सुख सुविधाका साथ लालनपालन गर्ने सोच राख्नुभएका पोखरेलले सोचेअनुसारको कमाइ नभएपछि घर फर्किए । विदेशका दुःखले नै उनलाई गाउँघरमै गाईपालन व्यवसाय थालनी गरेका छन्।

तीन वर्ष साउदीमा पसिना बगाएर फर्किएका पोखरेल अहिले रामपुरकै नमूना व्यवसायीका रुपमा चिनिन थालेका छन् । उनको फार्ममा अहिले १२ वटा उन्नत जातका गाई छन् । उनले दैनिक ५० लिटर दूध उत्पादन गरेर बिक्रि गर्छन् । यसबाट उनको माहिनाको ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ । यो कमाइ उनले विदेशमा दिनरात गरेर पसिना बगाएको भन्दा दोब्बर हो ।

‘घरमै बसेर खर्च कटाएर मासिक ५० हजारजति आम्दानी हुन्छ, विदेशमा वर्षमा १ लाख रुपैयाँ पनि कमाइ भएन । विदेश जानुअघिका धेरै कमाउने सपना खाडीमा यसे विहिन हुन्छ,’ पोख्रेल सुनाउछन् ।

बौघा पोखराथोकका कृषक रुकबहादुर रेश्मी पनि दुई वर्षसम्म बहराइन बसे । विदेशबाट फर्केलगत्तै गाईफार्म चलाएका रेश्मीले दूध बेचेर मासिक लाख रुपैयाँ भन्दा धेरै हात पार्छन् ।

विदेशमा यथेष्ट कमाइ गर्ने र परिवारलाई सुखसँग पाल्ने रेश्मीको सपना गाईपालन व्यवसायबाट पूरा भएको छ । ‘घरमै बसेर व्यवसाय गरियो भने पर्याप्त कमाउन सकिने रहेछ नि बल्ल पो आँखा खुले,’ उनले भने ।

पाल्पामा अहिले विदेश गएर फर्केका र विदेश जान लागेका १३० भन्दा बढी युवाले व्यावसायिक पशुपालनबाट मनग्य आम्दानी गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

कार्यालयले व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढाउन युवालक्षित कार्यक्रमअन्तर्गत अनुदान रकम, चापकटर मेशिन, भकारो सुधार, गोठ निर्माण, निःशुल्क घाँसको बीउ, औषधि उपचारजस्ता सेवा उपलब्ध गराएपछि जिल्लामा पशुपालनमा युवाको आकर्षण बढेको पशु चिकित्सक उत्तम आचार्यले जानकारी दिए ।

विदेशको लगानी कृषिमा गरियो भने प्रशस्त कमाइ गर्न सकिन्छ । स्वदेशमै बसेर यथेष्ट आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि युवा विदेशिने गरेका छन् । विदेशको पीडा भोगेपछि हिजोआज युवा गाउँमै बसेर पशुपालनमा लाग्न थालेका छन् ।

विशेष