News प्रवास

दुबईमा यसकारण नेपाली कामदारले वर्षेनी ज्यान गुमाउँछन् (तथ्यांकसहित)

१ वर्षमै २६ जनाले गरे आत्महत्या

दुबईमा यसकारण नेपाली कामदारले वर्षेनी ज्यान गुमाउँछन् (तथ्यांकसहित)

नेत्र पौडेल ।

काठमाडौं । युनाईटेड अरब इमिरेट्स (यूएई) मा पछिल्लो समय मृत्यु हुने नेपाली कामदारको संख्या बढ्दो छ । नेपाली दूतावस अवुधावीले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१७ अवधिभर ८४ नेपाली कामदारले ज्यान गुमाए ।

 

तीमध्ये २६ जनाले आत्महत्या गरेको दूतावासको तथ्यांकमा उल्लेख छ । यस्तै सन् २०१६ भरी ६६ को ज्यान गएकोमा १२ वटा आत्महत्याका घटना थिए । यसरी अघिल्लो वर्षभन्दा पछिल्लो वर्ष २०१७ मा आत्महत्या गर्नेको संख्या १४ ले बढी देखिन्छ ।

 

मृत्युका अधिकांश घटना सुतेको अवस्थामा मृत्यु (नेचुरल डेथ) भएको तथ्यांकमा उल्लेख छ । यसरी मृत्यु हुनेमा सन् २०१७ मा ३६ जनाको मृत्यु भएको छ । साथै सन् २०१६ मा पनि नेचुरल डेथ हुनेको संख्या ३६ नै थियो ।

 

यस्तै सन् २०१७ मा २४ जनाको हृदयघातका कारण मृत्यु भएको छ भने सन् २०१६ यस्तो संख्या २२ थियो ।

 

यस्तै दुर्घटनाका कारण पनि मृत्यु हुनेको संख्या बढ्दो देखिन्छ । सन् २०१६ मा दुर्घटनाको कारण मृत्यु हुनेको संख्या १८ थियो भने सन् २०१७ मा २२ जनाको ज्यान गयो ।

 

सडक दुर्घटनाका कारण पनि मृत्युका घटना भएका छन् । सन् २०१६ मा सडक दुर्घटनाका कारण ८ जनाको ज्यान गएको थियो भने सन् २०१७ मा ९ जनाको मृत्इु भयो । यूएईमा डुबेर पनि नेपाली कामदारको मृत्यु हुने गरेको छ । सन् २०१६ मा ४ जनाको डुबेर ज्यान गएको थियो भने सन् २०१७ मा २ जनाको मृत्यु भयो ।

 

साथै कार्यस्थलमै हुने दुर्घटनाका कारण पनि ज्यान जाने गरेको पाइएको छ । अघिल्लो वर्ष ३ जनाको ज्यान गयो भने सन् २०१७ मा २ जनाको मृत्यु भयो । साथै हत्याका समेत केही घटना छन् । जसमध्ये सन् २०१६ मा २ जनाको हत्या भयो भने सन् २०१७ मा पनि २ जनाको हत्याका घटना भए ।

 

सन् २०१७ मा रोगका कारण ९ जना र मदिराका कारण १ जना को ज्यान गयो भने सन् २०१६ मा रोगका कारण ९ जना र रक्सीका कारण ५ जनाको मृत्यु भएको तथ्यांका उल्लेख छ । यूएईमा बेवारिशे मृत्यु पनि भएका छन् । २०१६ मा १ जना र २०१७ मा २ मृत्यु बोवारिशे भेटिए ।

 

यसरी सन् २०१३ देखि सन् २०१७ सम्म ५ वर्षको अवधिमा मृत्यु हुनेको संख्या ३ सय ४७ पुगेको छ । साथै मृत्यु हुने क्रम बढ्दो देखिन्छ । जसमध्ये ३ सय १७ पुरुष छन् भने ३० जना महिलाको मृत्यु भएको हो ।

 
झण्डै तीन लाखको संख्यामा यूएईमा नेपाली कामदार छन् । तिमध्येझण्डै ५० हजार कामदारले श्रम स्वीकृति नलिएरै काम गर्दैआएका छन् । विसं २०७३ सालमा मात्रै ५२ हजार ७ सय ९३ जना वैदेशिक रोजगारीका लागि यूएई पुगेका थिए । यूएई वैदेशिक रोजगारीका लागि नेपालीहरुको तेस्रो ठूलो संख्या रहेको मुलुक हो ।

 

हरेक वर्ष नेपाली कामदारको मृत्यु हुने क्रम रोक्नका लागि भने वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले चासो नदेखाएको गुनासो त्यहाँस्थित कामदारहरुको छ । सरकारले विदेश जान हौसला दिने तर त्यहाँ पर्ने समस्याबारे बिमुख भइरहेको उनीहरु बताउँछन् ।

 

‘आत्महत्या तथा मृत्युका घटना किन बारम्बार भइरहन्छन् ?’ भन्ने जिज्ञाशामा सरकारी निकायहरुले यसबारे राम्ररी अनुसन्धान गरिनसकेको जवाफ दिँदैआएका छन् ।

तथ्यांक तल दिइएको छः

 

विशेष