News

प्रचण्डसँग खुश्बु ओलीको यस्तो गुनासो (ज्ञापनपत्रसहित)

प्रचण्डसँग खुश्बु ओलीको यस्तो गुनासो (ज्ञापनपत्रसहित)

काठमाडौं । ‘चरी डनकी प्रेमिका’ भनेर कुनै बेला मिडियामा छाएकी मिस टीन खुश्बु ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर बाल अधिकारबारे चासो देखाएकी छन् ।

प्रचण्डसँगको भेटमा उनले सडक बालबालिका, अनाथ र असहायहरुका अधिकारबारे चासो देखाएकी हुुन् । ओलीले आफ्नै संस्था आश्रय सेल्टर नेपालमार्फत ज्ञापनपत्र बुुझाउँदै प्रचण्डसँग सडक बालबालिकाको संरक्षणका लागि विस्तृत कार्यक्रम र भौतिक पूर्वाधारको विकासमा पर्याप्त बजेट विनियोजन गराउन आग्रह गरेकी हुन् ।

ओलीले केही वर्षयता आश्रय सेल्टर नेपाल नाकको संस्थामार्फत बाल अधिकारको क्षेत्रमा विभिन्न काम गर्दैआएकी छन् ।
ओलीले मंगलबार बिहान पूर्वप्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापनपत्र बुझाउँदै नेपालमा बालबालिकाको स्थिति अत्यन्तै कमजोर रहेको स्मरण गराउँदै पर्याप्त बजेट र कार्यक्रम बनाउन माग गरेकी हुन् ।

‘बालबालिका भविष्यका कर्णदार हुन् । भविष्यका राष्ट्रका नेतृत्वकर्ता हुन् । तर, लाखौं बालबालिकाले अहिले पनि भविष्य निर्माण गर्ने विद्यालयको ढोका देख्न नै पाएका छैनन् । कतिपय बालबालिकालाई ‘क’देखि ‘ज्ञ’सम्म लेख्न पनि आउँदैन । माघको जाडोमा धेरै बालबालिका पेटीमा खाली पेट सुतिरहेको देखिन्छ,’
ज्ञापनपत्रमा भनिएको छ ‘अनेक समस्या र बाध्यताबीच बालबालिकाहरु सडकमा बस्न र पढ्ने उमेरमा मागेरै दैनिकी चलाउन बाध्य छन् ।’

साथै बालबालिकालाई मजदुरको रुपमा प्रयोग गरिएको प्रति पनि उनले चिन्ता व्यक्त गरेकी थिइन् । मानव बेचबिखन, यौनशोषण लगायतका हिंसामा बालबालिकाको प्रयोग रोक्नुपर्ने उनको तर्क थियो ।

खुुश्बुले भनिन्, ‘अध्यक्ष कामरेड, तपाईँले नै नेतृत्व गर्नुभएको १० वर्षे जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनपछि संविधान निर्माणसँगै मुलुक आर्थिक समृद्धि र विकासतर्फ अघि बढिरहेको अवस्थामा सडकमा रहेका बालबालिकाको सुन्दर भविष्यका लागि तपाईँ र तपाईँको पार्टी नेकपा माओवादी केन्द्रको पनि योगदान रहन्छ भन्ने हाम्रो अपेक्षा छ ।’

ज्ञापनपत्र बझाउँदै खुश्बुले सन् २०१८ मा रुसमा हुने फिफा विश्वकपभन्दा अघि नै सन् २०१८ को मे १९ देखि २७ तारिखसम्म सडक तथा असहाय बालबालिकाका निम्ति आयोजना हुन लागेको विश्वकप फुटबलमा नेपालको सहभागिता गराउने जानकारी गराएकी थिइन् ।

यस विश्वकपमा २२ देशबाट २४ टिमको सहभागिता रहने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालले पहिलो पटक छात्र टीममा भाग लिन लागेको भन्दै त्यसबारे उनले प्रचण्डलाई जानकारी पनि गराइन् ।

विशेष